राष्ट्रपति कार्यालयमा तीन घण्टा बिताएर फर्किए रावल: के भयो छलफल ? - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

राष्ट्रपति कार्यालयमा तीन घण्टा बिताएर फर्किए रावल: के भयो छलफल ?



काठमाडौँ – पछिल्लो समय माधव नेपाललाई छोडेर ओली क्याम्पमा गएको भनिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न एमालेका उपाध्यक्ष रावल शीतलनिवास पुगेको बताइएको छ । राष्ट्रपति भण्डारी र रावलबीच लामो छलफल भएको स्रोतले बताएको छ ।

पार्टी एकताको लागि माधव समुहले ओली समुहलाई दुई दिनको अल्टिमेटम दिएपछि राष्ट्रपति भण्डारी सक्रिय बनेको चर्चाबीच उनीहरूबीच भेटवार्ता बहेको हो ।

राष्ट्रपति भण्डारी यसअघि पनि पटकपटक पार्टीको विवाद मिलाउन सक्रिय बन्दै आएकी छन् । शनिबार साँझ करिव ५ बजे शीतलनिवास पुगेका रावल करिव बजे ८ बजे बाहिरिएका थिए । लगभग ३ घण्टा राष्ट्रपति निवासमा बिताएका रावलले यसबारे खुलाउन चाहेका छैनन् ।

स्रोतका अनुसार माधव नेपाल समुहलाई सरकारमा जानबाट रोक्न र पार्टीको विवाद मिलाएर अगाडी बढ्न राष्ट्रपतिले आग्रह गरेकी छन् । छलफलमा राष्ट्रपतिले एमाले माधव समुहको पछिल्लो केन्द्रीय कमिटि बैठकबारे जानकारी लिएको स्रोतको दाबी छ ।

रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा राजनीतिक वृत्तमा रहेका बेला राष्ट्रपति भण्डारीसँग उनको भेटवार्ता भएको हो।