राष्ट्रपति भण्डारीले गरिन् अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्राचार - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

राष्ट्रपति भण्डारीले गरिन् अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्राचार



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाएका छन् ।

मासिङ्गासँगको भेटमा खतिवडाले नेपालमा कोभिड–१९ र खोपको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै अमेरिकी सहयोगसँग खोप सहयोगको लागि अनुरोध गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । जवाफमा मासिङ्गाले नेपालमा अहिले भइरहेको महामारीबाट भएको मृत्युप्रति सहानुभूति प्रकट गर्दै अमेरिकाी सरकारले कोभ्याक्स र द्विपक्षीय माध्यमबाट नेपाललाई अस्ट्राजेनिका खोपको निश्चित मात्र छिट्टै नै उपलब्ध गराउने आश्वासन दिएको दूतावासले जनाएको छ ।

यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गर्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्दै खोप खरिदमा सहजीकरण गरिदिन लागि अनुरोध गरेकी थिइन् । त्यस क्रममा राष्ट्रपति सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।