सरकार र नेतृत्वप्रति पार्टीभित्रै बिद्रोह सुरु ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सरकार र नेतृत्वप्रति पार्टीभित्रै बिद्रोह सुरु !



काठमाडौं- सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले पार्टीभित्र असन्तुष्टि र चुनौती देखापरेको बताएका छन्। शुक्रबार राजधानीको एक होटलमा आयोजना गरेको चियापानमा सहभागी भएपछि बाहिरिँदै नेता भुसालले पार्टीभित्र चर्को रुपमा असन्तुष्टिका स्वरहरु गुञ्‍जिन थालेको माधवकुमार नेपाललाई उद्दृत गर्दै बताए।

उनले माधव नेपाललाई उद्धृत गर्दै भने, ‘पार्टीमा चुनौती देखापरेका छन्। अलि गम्भीर भएर सामना गरौं भन्ने कुरा राख्नुभयो। त्यो सामना गर्दा पार्टीलाई विधि, पद्धति, प्रणाली, प्रकृयालाई टेकेर गरौं।’

ओली सरकारले सत्ता सम्हालेको ८ महिना नपुग्‍दै पार्टीमा यस्ता चुनौती देखा पर्नुले पार्टीलाई संकटमा लैजाने नेता नेपाललाई उद्दृत गर्दै भुसालले बताए। उनले भने, ‘यति धेरै आशा र अपेक्षाका साथ जनताले हामीलाई जिताएका छन् हामीले त्यो दायित्व पूरा गर्नुपर्छ मुलुक, जनता र राष्ट्रप्रति। सहभागी सबैलाई माधव नेपालले स्मरण गराउनुभयो।’

उनले पार्टीका बैठकका निर्णयहरुप्रति आफूले असहमतिहरु पार्टी समक्ष गुनासोहरु गरिसकेको भन्दै भने, ‘ मैले पार्टीका बैठकका निर्णयहरुबारे मेरा असहमतिहरु जानकारी गराइसकेको छ। अब त्यसबाट हामीले पार्टीलाई एकतावद्ध र बलियो बनाउन खोजेको हो।’

दुवै अध्यक्ष बाहिर भएको बेला यस्तो बैठक बोलाउन ठीक हुन्छ त भन्ने पत्रकारको जिज्ञासामा भुषालले भने, ‘त्यसले झनै गलन सन्देश नदिने कुरा बामदेव गौतमले भन्‍नुभएको छ। गौतमले दुई अध्यक्ष नभएको बेला बरिष्ठताका आधारमा नेपालले बैठकको आयोजना गर्नु स्वभाविक नै हो।’

यस्तै पार्टीका स्थायी समिति सदस्‍य योगेश भट्टराई पार्टीका पछिल्ला निर्णयहरुले पार्टीको स्थापित प्रणालीलाई नै धक्का दिएको बताए। उनले भने, ‘ पार्टीको पछिल्लो निर्णय पार्टीकै स्थापित प्रणालीलाई चुनौति दिन्छ। पार्टी एकताको भावना अझै आएको छैन। कार्यकर्ताको भावना कायमै छ नेतृत्व तहमा।’

उनले पार्टी एकता गरेलगत्तै एकले अर्काले निषेधको राजनीति गरिरहेको गुनासो गरे। उनले भने, ‘पार्टी एकता निषेधको राजनीति र भावनाले चल्‍दैन। यसले स्थापित प्रणालीलाई कायम राख्‍न सकेन। पार्टी सचिवालय प्रविधिक कामको लागि हो। यसले केन्द्रीय समितिमा प्रस्ताव लैजाने हो। कार्यकर्ताको भावना, पोजिसन सबै कुराको ख्‍याल गर्नुपर्छ। यसले अझै ठूलो शक्ति निर्माण गर्नुपर्छ।’ एकले अर्कालाई निषेधकव राजनीतिले कही पनि नपुगिने उनको भनाई थियो।