विधेयक पारित हुँदा नेपाली कांग्रेस पनि खुसी भयो :नेता खनाल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमतले जहिले पनि शासन गर्नेभन्दै चिकित्सा शिक्षा विधेयकमा संसदबाट भएको प्रक्रियाको नेपाली कांग्रेस र डा.गोविन्द केसीले विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ नेता खनालले संसदीय प्रक्रिया पूरा गरेरै विधेयक पारित भएको बताए । उनले विधेयक पारित हुँदा प्रमुख विपक्षी दल नेपाली कांग्रेस पनि खुसी रहेको बताए ।
‘संसदीय प्रक्रीयाअनुसार भएको छ । कांग्रेसपनि खुसी छ’, उनले भनेका छन्, ‘चिकित्सा शिक्षा विधेयक पारित गर्ने बेला दुई तिहाइको दम्भ देखाइएको छैन ।’
उनले भने, ‘अरु विषयमा दुई तिहाइ भयो होला । संसदमा विधेयक पारित गराउँदा शक्तिको दुरुपयोग भएको छैन ।’
संसदबाट पािरत भैसकेको चिकित्सा शिक्षा विधेयकमाथि अब कुनै पनि हेरविचार नहुने उनले बताए । ‘पारित भैसक्यो यसमा पुनर्विचार हुँदैन । यो कुरा बुझ्नु पर्छ’, खनालले भने, ‘बहुमतलाई शासन गर्न नदिने ? अल्पमतले विरोध गर्न हुन्छ ? हुँदैन । बहुमतले शासन गर्छ । विरोध गर्नुको तुक छैन ।’
संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विषयमा नेपाली कांग्रेसले विरोध गरिरहेका बेला नेकपाका वरिष्ठ नेता खनालको अभिव्यक्तिले तरंग उत्पन्न गरिदिएको छ ।