बिध ल्यावको अवैध धन्दा: यसरी भयो पर्दाफास
काठमाडौं- पीसीआर परिक्षण गर्ने बिध ल्यावले अवैध धन्दा गरेको भेटिएको छ । दर्ता नै नगरी चलाएको पीसीआर परिक्षण गर्ने बिध ल्यावलाई प्रशासनले बन्द गराएपछि यसको धन्दा पर्दाफास भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार ल्याबले दर्ता नै नगरी पीसीआर परीक्षण गरेर राज्य र जनतालाई ठगी गरेको फेला परेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासन लगायतको संयुक्त टोलीको अनुगमनका क्रममा ल्याब दर्ता नभएको फेला परेपछि बन्द गरिएको हो ।
काठमाडौंमा मुख्य कार्यालय राखेर तामझामका साथ शाखा विस्तार गरिरहेको ल्याबले कोरोना माहामारी शुरु हुने समयमा पोखरामा शाखा खोलेको हो । पोखराको पृथ्वीचोकमा शाखा खोलेको सो ल्याब कास्कीमा भने दर्ता छैन ।
तर पीसीआर परीक्षणका लागि नमुना काठमाडौं पठाउने भन्दै सो ल्याबले स्वाब संकलन शुरु गरेको उनले बताईन । ‘शुरुमा त यहाँस्थित प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रशासन लगायतले काठमाडौंमा लगेर पीसीआर गर्ने भनेपछि होला भनेर पत्यायो । तर, जब ल्याबले आधा घण्टामै रिपोर्ट दिन थाल्यो, तबमात्र प्रशासनदेखि सरोकारवाला सबै निकाय झस्किए,’ उनले भनिन ।
त्यसपछि निगरानीमा रहेको सो ल्याबमा सोमबार अनुगमन गरिएको थियो । अनुगमनमा ल्याबले पोखराकै अर्को प्रयोगशालामा पीसीआर परीक्षण गर्ने गरेको प्रमाण भेटिएको सुवेदीले बताईन् । ‘शुरुमा त हामीले पनि काठमाडौंमै लगेर पिसीआर गर्ने भनेपछि पत्यायौं,’ उनले भनिन्, ‘तर बिध ल्याबले हामीलाई झुक्याएको रहेछ, उसले त पोखराकै ल्याबमा परीक्षण गर्ने गरेको प्रमाण नै भेटियो।’
महामारीका बेला लापरवाहीपूर्वक झुक्याएर पिसीआर परीक्षण गर्ने बिध ल्याबलाई ‘सिल’ गरिएको निमित्त प्रमुख सुबेदीले बताईन् । ‘दर्ता नगरेसम्म बिध ल्याबलाई पिसीआर नगर्न भनेका छौं, साथै ल्याबको ढोकामा ताला लगाएका छौं,’उनले भनिन् । उनले पोखरामा दर्ता गरेमा भने पिसीआर परीक्षण गर्न दिइने बताईन् ।
पिसीआर परीक्षण्का लागि सरकारी अस्पताल टेकु अस्पतालबाट ए ग्रेडको प्याथोलोजी ल्याब भएको प्रमाणपत्र वा नेपाल सरकारबाट स्वीकृत प्राप्त टिचिङ हस्पिटल जसले कोभिडका विरामीका लागि २० प्रतिशत बेड छुट्याएको अस्पतालले मात्र गर्न पाउने ल्याब विज्ञहरु बताउँछन् ।
तर बिध ल्याबले दुवै मापदण्ड पूरा गरेको छैन । अझ आधाघण्टामै पीसीआरको रिपोर्ट दिएको भन्नेबारेमा थप अनुसन्धान हुनुपर्ने उनीहरुको भनाई छ । किनकी कोभिडको पीसीआर टेस्ट आधा घण्टामा हुनै नसक्ने उनीहरुको दाबी छ । ‘आधा घण्टा त के २ घण्टामा पनि कोभिडको परीक्षण सकिन्न त्यसैले पैसामा पिसीआर प्रमाणपत्र बिक्री गरेको पनि हुनसक्छ, त्यसबारेमा पनि अनुसन्धान हुनुपर्छ,’ पोखराका एक प्रयोगशालाका जानकारले भने ।