अब नेता र मन्त्रीले विदेशमा उपचार गराए खर्च नपाउने - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

अब नेता र मन्त्रीले विदेशमा उपचार गराए खर्च नपाउने



काठमाडौँ । बिशिष्ट ब्यक्तिहरुले राज्यको सेवासुविधा अन्तर्गत विदेशमा गराउने स्वास्थ्य उपचार खर्च बापत लिंदै आएकामा अब नपाउने भएका छन् । उच्च पदस्थ व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च अब सरकारले नब्यहोर्ने भएको छ ।

हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयक अन्तर्गत थपेको नयाँ धारामा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने नियम राखिएको छ ।

परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । कांग्रेस सांसद गगन थापाले विदेशमा गरिने उपचारको खर्च व्यहोर्न नहुने संशोधन राखेका थिए भने नेकपाका सांसद खगराज अधिकारीले मेडिकल काउन्सिलको सिफारिसमा मात्र उपचार खर्च दिने व्यवस्था राख्ने संशोधन हालेका थिए ।तर, समितिले एक कदम अगाडि बढेर प्रचलित कानुनमा जे व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा विधेयकमा थप गरेको हो ।

नयाँ कार्यविधि लागू भए पनि विशिष्टको उपचारमा हुने करोडौं खर्च जोगिने र उनीहरुलाई स्वदेशमै उपचार गर्न प्रोत्साहित गरी नेपालका स्वास्थ्य सेवाप्रति विश्वास बढाउनेमा दुई मत छैन ।

पछिल्लो तथ्यांक अनुसार प्रत्येक वर्ष विशिष्ट व्यक्तिको उपचार खर्चका नाममा २५ करोडभन्दा बढी खर्च हुँदै आएको छ ।प्रस्तावित विधेयक पास भए कानुनतः उच्च पदस्थहरुले मुलुक बाहिर गएर गर्ने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन ।