ओबामाको भन्दा बढी मत ल्याएर रेकर्ड तोडे बाइडेनले
एजेन्सी- डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै भोट प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका हुन् ।
बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए । यसपटक बाइडेनले ओबामालाई उछिन्दै ७ करोड ४ लाख २७ हजार ६०९ हजार मत प्राप्त गरिसकेका छन् ।
हाल बाइडेनले वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि अग्रता कायम गरिरहेका छन् । जीतका लागि आवश्यक २७० इलेक्टोरल मत बाइडेन निकट रहेको विभिन्न मत सर्वेक्षणले देखाएको छ । सीएनएनका अनुसार मिसिगन राज्यमा जीत हासिल गरेसँगै बाइडेन अब १७ मतले पछि छन् ।
बाइडेडले हाल ट्रम्पसँग २५३–२१३ को अग्रता हासिल गरिरहेका छन् । एरिजोना, जर्जिया, नेभाडा, नर्थ क्यारोलाइना र पेन्सिलभिनियामा निकै नजिकको टक्कर भइरहेको छ ।