ट्रम्पको विदेश नीति खारेज गर्दै बाइडेनको नयाँ सुरुवात - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ट्रम्पको विदेश नीति खारेज गर्दै बाइडेनको नयाँ सुरुवात



अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।

विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको ‘एकतर्फी राष्ट्रवाद’ को नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।

बाइडेनले आफ्नो मन्त्रीपरिषदमा दुई उदारवादी नेताहरु जो राष्ट्रपति उम्मेदवारीको होडमा बाइडेनका प्रतिस्पर्धी थिए, सिनेटर बर्नी सान्डर्स र एलिजाबेथ वारेन सामेल नहुने पनि संकेत गरेका छन् ।

महत्वपूर्ण नीतिहरु पारित गर्नका लागि विभाजित सिनेटमा उनीहरुको मत अत्यावश्यक हुने बाइडेनले बताएका छन् ।

चार वर्ष पहिले सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सम्झौता र जिम्मेवारीहरुबाट अलग गरेका थिए । युरोपेली देशसँगको सम्बन्धमा ट्रम्प कालमा अमेरिका कमजोर भएको देखिन्छ । ट्रम्पको सम्बन्ध विश्वका अधिनायकवादी नेताहरुसँग नजिक र ‘घनिष्ट’ बनेको छ ।

आफ्नो टिमले पुरानै मान्यता र अपरिवर्तित व्यवहारको मान्यतालाई केन्द्रमा राखेर विदेश नीति बनाउने बाइडेनले बताएका छन् ।

बाइडेनले विदेश मन्त्रीका लागि आफ्ना विश्वास पात्र एन्टोनी ब्लिङ्कनको नाम प्रस्ताव गरेका छन् ।

गृहनगर डेलवरको विलमिङ्गटनमा बाइडेनले भने, ‘यो त्यो टिम हो जसले अमेरिकाले पुनरागाम गर्दैछ र विश्वलाई नेतृत्व प्रदान गर्न तयार छ भन्ने देखाउँछ । फेरि एकपटक अमेरिका विश्व मञ्चको केन्द्रमा बस्ने छ । सल्लाहकार तथा सहयोगीहरुलाई सहजता प्रदान गर्ने र सहकार्यको हात फैलाउने छ यो समूहले, हात छोड्ने छैन । हाम्रा मान्यताहरुका लागि डटेर उभिने छ ।’

ट्रम्प कालमा चीनसँगको सम्बन्ध खराब बनेको छ, तर रुससँग उसको ‘घनिष्टता’ बढेको देखिन्छ । यस्तै विभिन्न सम्झौता र संगठनहरुबाट बाहिरिएका कारण अमेरिकाको प्रभाव विश्वमा कमजोर बनेको छ ।

बाइडेन प्रशासनमा अमेरिकाको विदेश नीति बहुआयामिक र कूटनीतिक हुने देखिन्छ उनले चयन गरेका टिम हेर्दा ।