सत्ता लिप्साकै कारण ओलीले इतिहासमै ठुलो अपराध गरे: बिडारीको आरोप - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सत्ता लिप्साकै कारण ओलीले इतिहासमै ठुलो अपराध गरे: बिडारीको आरोप



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्टियसभाका सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै ठुलो अपराध गरेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई अपराधीको संज्ञा दिँदै गलत मनशायले संसद विघटन गरेको र चुनावको मिति घोषणा गरेको टिप्पणी गरेका छन् ।

एक टेलिभिजनसँग कुरा गर्दै मंगलबार साँझ उनले संसदबाट विश्वास गुमाएका ओलीले फेरि प्रधानमन्त्रीमा दाबी गर्नु हास्यास्पद भएको बताए । बिडारीले विश्वास गुमाउँदा पनि सत्ता लिप्सा नछाडेको भन्दै ओलीले ठुलो बेइमानी गरेको टिप्पणी गरे ।

उनले प्रधानमन्त्रीले संसदबाट विश्वास नपाएको अवस्थामा फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गलत भएको पनि बताए । शेरबहादुर देउवाले सांसदको हैसियतले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेको बेला प्रधानमन्त्री ओलीले बेईमानी गरेको उनले आरोप लगाए ।

उनले गत फागुन ११ गतेको आदेशकै उल्लंघन गरेर प्रधानमन्त्रीले फेरि संसद् विघटन गर्नु भनेको राजनीतिक अपराध भएको पनि टिप्पणी गरे ।

उनले भने-“संसारकै इतिहासमा यस्तो प्रकारको निकृष्ट, जघन्य, राजनीतिक अपराध सायद कुनै देशमा भएको छैन होला । एउटै प्रधानमन्त्रीले दुई महिनाको बीचमा दुई पटक अदालतको आदेशको विरुद्धमा समेत लत्याएर फेरि संसद् विघटन गर्न पाईन्छ ?”