बिचरा वामदेव: बने राजनीतिक सिकार ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिचरा वामदेव: बने राजनीतिक सिकार !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताका रुपमा चिनिएका बामदेव गौतमलाई आफ्नो राजनीतिक जीवनदेखि धिक्कार लाग्न थालेको छ । दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउन सबैभन्दा बढी भूमिका खेलेका बामदेवलाई अहिले सांसद बन्नुछ । तर कसैले पत्याएको छैन ।

विभिन्न नाम जोडिन्छन् अनि छुट्टिन्छन् । पहिले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको निर्वाचनमा हराए । अहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली भत्काउन ट्रमकार्ड प्रयोग गर्न खोजे पनि बामदेवको काँध नथाप्दा विश्वास घट्दै गएको छ ।

पार्टी एक भएपछि पनि पूर्व एमालेकाहरुमात्र उनलाई छाड्ने र नजिकिनेमा देखिएका छन् । प्रचण्डले पूर्व माओवादीका सांसदलाई ब्याक गराउन सकेनन् ।

तर कसैले पत्याएको छैन । गौतमको सपना चकनाचुर भएको छ । नेकपा सचिवालयको बैठक बसेर आफ्ना लागि कुनै सांसदको क्षेत्र खाली गर्ने निर्णय गरिदेला भन्दाभन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दुई साताको लागि संयुक्त राज्य अमेरिका र कोस्टारिकाको भ्रमणमा निस्किएपछि वामदेवलाई सांसद बनाउने प्रयास तत्कालका लागि तुहिएको छ ।

डोल्पाका भीमबहादुर बुढादेखि प्यूठानकी दुर्गा पौडेल र दैलेखका रवीन्द्रराज शर्मादेखि रुकुमकी कमला रोकासम्मले वामदेवका लागि ठाउँ खाली गरिदिएर आफूलाई रित्तो र केपी ओलीलाई खिन्न बनाउन चाहेनन् ।

बाँके तीन नम्बर प्रदेशका सांसद नन्दलाल रोकायालाई मनाउन गरेको प्रयास पनि सफल हुन सकेन । यसरी ‘सिट खाली’ गराउन भएका सबै प्रयास असफल भएको छ । र, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि झन्डै दुई साताको विदेश भ्रमणमा गएकोले वामदेव गौतमका लागि ठाउँ खाली गराउनेसम्बन्धी प्रस्ताव नै अलपत्र परेको छ ।

वास्तवमा नेकपा सचिवालयका सदस्यहरूमध्ये प्रचण्डबाहेक कसैले पनि वामदेव गौतमलाई प्रतिनिधिसभामा प्रवेश गराउने रुचि लिएको ठानिँदैन । वरिष्ठ नेता माधवकुमार नेपालले त प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि प्रतिनिधिसभा सदस्य बनाउनुपर्ने धारणा प्रकट गरेर वामदेवमाथि केन्द्रित रहनु नपर्ने सङ्केत दिइसकेका छन् ।

छिमेकी (सैंबु भैंसेपाटी, ललितपुर) समेत भएकोले महासचिव विष्णु पौडेलले वामदेवका विषयमा केही चासो त राखेका छन्, तर मुख्य नेताहरू नतातेसम्म पौडेल मात्रको प्रयासले कुनै परिणाम हात लाग्ने ठानिएको छैन । प्रचण्ड र वामदेव गौतमबीच विकसित घनिष्टताले प्रधानमन्त्री केपी ओलीलाई मात्र झस्काएको छैन, माधवकुमार नेपाललगायत अन्य नेताहरूलाई समेत सचेत तुल्याएको छ । त्यसैले यतिबेला सचिवालयको बहुमत वामदेवको चाहनाको पक्षमा देखिँदैन ।

अहिलेसम्म वामदेव गौतम केपी ओलीको समेत सहयोगमा ‘संसद् पस्ने’ योजनामा रहेकोले केपीविरुद्ध उनले प्रकट रूपमा कुनै गतिविधि गरेका छैनन् ।

जुन दिन गौतमले आफ्ना सपना चकनाचुर भएको महसुस गर्नेछन्, त्यसपछि उनी केपी ओली र सरकारका विरुद्ध धमाकेदार किसिमबाट उत्रने अनुमान वामदेवका निकटवर्तीहरूले गरेका छन् ।

नेताहरूले चासोको विषय खासै नबनाएको, वामदेव स्वयमले आफ्नो लागि ठाउँ खाली गरिदिने कुनै सांसद फेला नपारेको र फेला परेकाले पनि धोखा दिएकोले वामदेव गौतम यस वर्षभित्र सांसद बन्ने योजना करिब तुहिएको छ । तथापि प्रयास भने जारी रहने बुझिएको छ ।