विवेकशील साझा पार्टी फुट्यो ,रन्जु दर्शना उज्वल थापाको टिममा !
काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । रवीन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको पार्टी फुटेको हो । संयोजकमध्येका एक थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार थापाको नेतृत्वमा आएको टोलीले विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दर्ता गरेको छ ।
पार्टी एकताको १७ महिनापछि फुटेको हो । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्टलगायतका नेताहरु रहेका छन् । यसअघि नेतृत्वको आलोचना गर्दै थापाले पार्टीका केन्द्रीय सदस्यहरुलाई सुझावपत्र दिएका थिए ।
नेतृत्वको ध्यानाकर्षण गराउँदै थापाले प्रतिवेदन बुझाएपछि पनि त्यसमा छलफल नगरी मिश्रले सबै विभागहरु भंग गर्ने, महिला तथा युवा संगठन बनाएको भन्दै थापापक्ष आक्रोशित बनेको थियो ।
विवेकशील साझा पार्टीमा मिश्र, मुमाराम खनाल र प्रवक्ता सूर्यराज आचार्यको शैलीप्रति उनीहरुको असन्तुष्टि रहेको एक नेताले बताए । ३७ केन्द्रीय सदस्य रहेको पार्टीमा बहुमत सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइएको छ । प्रदेश ३ का तीनैजना सांसदहरुमध्ये रमेश पौडेल र विराजमान श्रेष्ठ पनि नयाँ पार्टी गठनका लागि हस्ताक्षर बुझाउनेमध्येका रहेका छन् ।
यस्तो छ विज्ञप्ति
विवेकशील साझा पार्टीका नेतृत्व, सदस्य, शुभचिन्तक एवं समस्त विवेकशील नागरिकहरुमा अपिल
मिति : २०७५/०९/२७
नेपालमा नविन तथा सुसंस्कृत राजनीतिको आवश्यता छ र सम्भावना पनि छ भन्ने विश्वासकास साथ वि.सं. २०६९ सालदेखि विवेकशील नेपाली अभियान अघि बढेको व्यहोरा यहाँहरु सबैमा विदितै छ। संबिधान सभाको दोश्रो निर्वाचन, महाविनाशकारी भुकम्प र त्यसपछीको उद्दार एवं राहत अभियान, लुटतन्त्रविरोधी सडक अभियान, डा. गोविन्द केसीसङ्गको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने अभियान हुँदै तात्कालिन विवेकशील नेपाली दलले २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर पदमा उमेद्वारी दिएर अघि बढ्योl
उक्त निर्वाचनमा विवेकशील नेपाली दल र २०७३ मा खुलेको साझा पार्टीले हासिल गरेको नतिजाले वैकल्पिक पार्टीहरुलाई नेपालको राजनीतिक परिदृश्यमा अलग स्थान बनाउने सम्भावना रहेको स्पष्ट संदेश दियो। त्यसैको फलस्वरुप, समान उदेश्यको लागि भिन्दाभिन्दै दलको साटो एकै भएर जानुपर्ने निस्कर्षमा विवेकशील नेपाली दल र साझा पार्टी आइपुगे। वि.सं. २०७४ श्रावण ११ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको सम्झौता भई विवेकशील साझा पार्टी गठन भयो। एकीकृत पार्टीले संघीय एवं प्रादेशिक निर्वाचनमा भाग लियो र उल्लेखनीय नतिजा पनि हासिल गर्यो। तर विगत १७ महिनाको दौरानमा पार्टीमा वैकल्पिक राजनीतिको बुझाइ र व्यवहारमा ठुलो भिन्नता रहेको प्रष्टै देखियोl मूल्यमान्यता आधारित राजनीति र पार्टी मात्र नभएर परिपाटी बिकास गर्ने अभियानमा यो यात्राले नतिजा दिन नसक्ने स्थिति सामुन्ने आयो। अत: अहिले कै ढंगले अघि बढ्दा निर्णय प्रक्रिया अपारदर्शी हुने, पार्टीमा सहभागितामुलक अभ्यास कमजोर हुने र सानो कोटरीले निर्णय गर्ने प्रविर्तीले प्रश्रय पाउने भयो l
यस पृष्ठभूमिमा सुसंस्कृत र सहभागितामुलक राजनीतिलाई केन्द्रबिन्दू बनाएर अघि नबढ्दा राजनीतिमा ताजा विकल्प खोजिरहेका युवा पुस्ता एवं जागरुक नागरिकको आशामा तुसारापात हुने निश्चित छ। नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रिय सदस्य भर्ति गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु बिघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै बिभिन्न भातृ संगठन गठन गर्ने तर्फ अघि बढ्ने जस्ता क्रियाकलापले समयकालमा ह्रास हुदैँ गएको हाम्रो आशा पनि पुरै निराशामा बदलिएको अवस्था अहिले हो। अत: यो जटिल परिवेशमा हाम्रै कालमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामुलक संवृद्धि हासिल गर्ने उदेश्यमा विचलित नभई अघि बढ्न अहिले अपरिहार्य भएकाले हामी विवेकशील साझा पार्टीका देहाय अनुसारका १६ जना केन्द्रीय समितिका सदस्यहरु आज २०७५/०९/२७ मा निर्वाचन आयोगमा गई बैधानिक तवरले नयाँ दल गठनको कानुनी प्रक्रिया शुरु गर्नको लागि निवेदन दिएका छौं।
सुसंस्कृत राजनीतिलाई संस्थागत गर्न हामी अझै डटेर लाग्ने प्रतिवद्दता व्यक्त गर्दछौं र सो कार्यमा विवेकशील साझा पार्टीका नेता एवं सदस्यहरु, शुभचिन्तकहरु एवं आम सचेत नागरिकहरुलाई आम-नागरिकहरुबाट साथ र सहयोगको अपेक्षा गर्दछौं।
मुल्यमान्यतामा अडिग रही जन अपेक्षाको संवोधन गर्ने सवालमा ईच्छुक सबै पक्षसँग विगतमा झैँ भविष्यमा पनि संवाद एवं सहकार्य गर्न हामी सधैँ खुला रहनेछौँ।
साथै डा केसीले भरखर आम नेपालीको स्वास्थ्य र शिक्षाको लागि गर्नु भएको सत्याग्रहमा हामीले एकबद्ध जनाउदैँ यस अभियानमा शसक्त तरिकाले लाग्ने प्रतिवद्धता जनाउनेछौँ। नागरिकको सेवामा सहकार्यको उदाहरण तपाईँ-हामी यहिँबाटै शुरु गरौँ।
धन्यवाद।
नमस्ते।
नेपालको जय होस् !
रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा
उज्वल बहादुर थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना
रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम
विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी