भुटानी शरणार्थीलाई सरकारले दस लाख दियो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भुटानी शरणार्थीलाई सरकारले दस लाख दियो



काठमाडौं /भुटानी शरणार्थीका डाक्टर भम्पा राईलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने पनि बताएका छन्।

राई र उनकी श्रीमती उर्मिलाको स्वास्थ्य जटिल बन्दै गएकाले उनीहरूले जीवनरक्षा गरिदिन अपील गरेका छन्। डा. राईले सहयोग अनुरोध गर्दै प्रधानमन्त्रीलाई पत्र पनि लेखेका थिए। आर्थिक समस्याका कारण उपचारमा समस्या भएपछि उनले सहयोग निम्ति आग्रह गरेका हुन्।

विगत २७ वर्षदेखि झापा, दमकमा बस्दै आएका डा. राईकी श्रीमती उर्मिलाका दुवै मृगौलाले काम गर्दैनन्। लामो समयदेखि डायलाइसिसको भरमा बाँचिरहेकी छन्।

डा. राई आफैं पनि बिरामी छन्। दिसा–पिसाबबाट रगत बग्न नरोकिएपछि अस्पताल भर्ना भएका राईको आन्द्राको दोस्रोपटक शल्यक्रिया गरिएको छ।

भुटानमा नेपाली भाषी लोत्सम्पा र ड्रुक्पाबीच द्वन्द्व चर्किएपछि उनी नेपाल आएका थिए। भुटानमा उच्च ओहोदामा रहेर डाक्टरी पेशामा संलग्न उनले दमक आएर यही काम थाले। भुटानी शरणार्थीका साथै विपन्न समुदायका मान्छेको निःशुल्क उपचार गरिरहे।

भुटानबाट खाली हात आएका उनको आर्थिक अवस्था बलियो रहेन। चार वर्षअघि श्रीमती बिरामी भइन्। उनका मृगौला फेर्न पैसा भएन। डायलाइसिसको भरमा बाँचिरहेकी छन्। अहिले साताको दुईपटकसम्म डायलाइसिस गर्नुपर्छ।

तै पनि डा.राई आफ्नो काममा सक्रिय रहे। बेलडाँगी शिविरमा बाँकी रहेका ६–७ हजार शरणार्थी र स्थानीयको उपचार गरिरहेकै थिए।

तर आफैं थला परेपछि भने डा राईले श्रीमतीको जीवन बचाइदिन अपील गरिरहेका छन्। उनीहरूका सन्तान छैनन्। उपचार, औषधीमूलोदेखि उनीहरूको रेखदेख गर्ने मान्छे समेत छैनन्।

जीवनभर अरुको स्वास्थ्योपचार गर्दै आएका डा.भम्पा राई र उनकी श्रीमती उर्मिलालाई सहयोग गर्न नागरिक समाजले पनि आग्रह गरेको छ।

डा. भम्पा राईको सहयोगनिम्ति झापा, दमकस्थित स्टेट बैंक अफ इन्डिया (एसबिआइ) मा रहेको उनको बैंक खाता नम्बर २१९१५२४१४००२२२ मा रकम जम्मा गरिदिन पनि नागरिक समाजले आग्रह गरेको छ।