भोलि एकताको अन्तिम घोषणा हुन्छ : प्रचण्ड
काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् ।
उनले आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने जानकारी दिए । उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’
उनले सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब पार्टीमा निर्मम समीक्षा हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएका छन् । देशलाई नयाँ दिशामा अघि बढाउन गम्भीर ढंगले छलफल हुन्छ’ प्रचण्डको भनाई थियो ।
पार्टी विधान पनि अन्तिम चरणमा पुगेको भन्दै प्रचण्डले केही दिनमा पारित गरिने बताए ।
एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू अहिले सक्रिय छन् ।
सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूका बीचमा पनि छलफल भइरहेको छ ।
जिल्ला नेतृत्वको टुंगो लगाउने विषयमा सैद्धान्तिक सहमति खोज्ने प्रयास गरिरहेका नेताहरू सहमतिनजिक पुगेको भनिएकै बेला प्रचण्डबाट पनि यस्तो अभिव्यक्ति आएको हो ।
यद्यपि, छलफल अझैं चलि नै रहेको छ । छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्वको टुंगो लगाउनुपर्ने अडान राख्दै आएका छन् ।लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ ।
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ ।
केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको नसकेको हो ।