भित्र प्रचण्डले बचाउ गर्दैथिए, बाहिर युवाले राजिनामा मागिदिए - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

भित्र प्रचण्डले बचाउ गर्दैथिए, बाहिर युवाले राजिनामा मागिदिए



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरिरहेकै समयमा बैठक बाहिर भने श्रेष्ठ विरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।

बैठकमा प्रचण्डले पार्टी प्रवक्ता श्रेष्ठलाई एउटा हाइड्रोको विवादसँग जोडेर फैलाइएको भ्रमको पछि नलाग्न बैठकमा आग्रह गर्दै थिए भने बाहिर युवाहरूले श्रेष्ठले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने भन्दै नारावाजी गरिरहेका थिए ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्दै श्रेष्ठको बचाउ गरेका थिए ।

तर त्यहि समयमा युवाहरूले दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवक्ता श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग पनि उनीहरुले गरेका छन् । सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा प्रदर्शन गरिएको हो।

कमानसिंह प्रकरणमा प्रवक्ता श्रेष्ठले अढाई करोडभन्दा धेरै रकम खाइदिएको आरोप लागेको छ। कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको सामाजिक संजालमा उल्लेख गरेका छन्।

तर नारायणकाजीले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिएका छन्।