ओली सरकारले नियुक्त गरेका ढुंगाना बर्खास्त - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ओली सरकारले नियुक्त गरेका ढुंगाना बर्खास्त



काठमाडौं-सरकारले शेयर कारोबार प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए। 

अध्यक्ष ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको खुलेको थियो। त्यसपछि अर्थ मन्त्रालयले छानबिन थालेको थियो। 

मन्त्रालयले गठन गरेको समितिले ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको पाएको थियो। केही साताअघिको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ढुंगानामाथि लागेको आरोपको विषयमा छानबिन गर्न न्यायिक समिति गठन गरेको थियो ।

समितिले दुई साता अघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाउँदै ढुंगानाले गैरकानुनी रुपमा सेयर खरीद गरेको उल्लेख गरेको थियो । अर्थ मन्त्रालयले यसपछि ढुंगानालाई पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण पठाएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि मंगलबारको मन्त्रीपरिषद् वैठकले ढुंगानालाई बर्खास्त गरेको हो । 

उनलाई २०७६ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।