अल्पमतमा परेका भीम आचार्यले भने: ‘मैले राजीनामा दिन्न’
विराटनगर- सांसदहरू नयाँ पार्टीमा खुलेपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने भएका छन् । उनले राजीनामा नदिएर संसदमा सामना गर्ने बताएका छन् ।
बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका छन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिने बताएका हुन् ।
आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ । एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने आचार्यले उनीहरूले आफ्नो अधिकर प्रयोग गरेको बताए ।
प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् ।
जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एकएक जना सांसद छन् । बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ ।