भीम आचार्यले विश्वासको मत पाउने
काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् । धरान–८ स्थित औद्योगिक क्षेत्रमा रु ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उनले शनिबार यस्तो बताएका हुन् ।
“सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु, यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो”, उनले बताए । मुख्यमन्त्री आचार्यले प्रदेश नं १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेकोसमेत बताए ।
आचार्यले विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति–सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताए । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर आएको हुनाले आफूसँग विकासको योजना रहेको बताए ।
मुख्यमन्त्री भएपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका मुख्यमन्त्री आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसायलाई प्रोत्साहान गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले आफू धरान आएको बताए । रासस