सर्वोच्च अदालतले भन्यो प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका छैनन् - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

सर्वोच्च अदालतले भन्यो प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका छैनन्



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभटेको सर्वोच्च अदालतले जनाएको छ। 

मंगलबार सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको भन्ने समाचारमा सत्यता नभएको जनाएका छन्। सोमबार राति प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री ओलीलाई भेटेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए। 

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही अनलाइनमा प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ। उल्लिखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दु:खद र खेदजन्य विषय हो।”

यसरी समाचार प्रकाशन गर्नु पत्रकार आचारसंहितको समेत प्रतिकुल भएको विज्ञप्तिमा जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका कार्यहरू संविधान, कानून र स्वयं पत्रकार आचारसंहिताका समेत प्रतिकुल हुने हुँदा कानूनी दायरमा आउनसक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौं। साथै यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं।”