भवानी राणालाई सरकारले गर्‍यो सदस्यमा मनोनित - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

भवानी राणालाई सरकारले गर्‍यो सदस्यमा मनोनित



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन् । बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो ।

प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा.डा. मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, अधिवक्ता हरि फुयाँल मनोनित भएका छन् ।

राणाले मुलकको आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन प्रतिष्ठानमा रहेर काम गर्ने बताएकी छन् । ‘मुलुकको बढ्दो व्यापारघाटा कम गर्न हामीले निर्यात बढाउनैपर्छ र निर्यातमा देखिएका अवरोध हटाउन हाम्रो आर्थिक कुटनीति प्रभावकारी हुनुपर्छ,’ अध्यक्ष राणाले भनिन्, ‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान भनेको सरकारलाई कुटनीतिक क्षेत्रमा सुल्लाह सुझाव दिने र मार्गनिर्देश गर्ने थिंक ट्यांक पनि भएकाले यहाँ रहेर मैले निजी क्षेत्रको सुझावसहित सम्पूर्ण आर्थिक क्षेत्रकै रुपान्तरणका लागि पहल गर्नेछु ।’

सरकारले हालै विदेशस्थित राजदूत नियुक्तिमा मापदण्डसमेत लागू गरिसकेको पृष्ठभूमिमा विदेशस्थित दूतावासलाई आर्थिक कुटनीतिमा अधिकतम उपयोग गर्न सकिने राणाको भनाइ छ ।

नेपालस्थित अमेरिकी राजदूतावास र विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभवका आधारमा राणाले कुटनीतिक क्षेत्रलाई नजिकबाट बुझेकाले उनको मनोनयनले निजी क्षेत्र पनि उत्साहित छ । प्रतिष्ठानमा निजी क्षेत्रको प्रतिनिधित्व हुनुलाई अवसरका रुपमा उपयोग गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।