योगेश भट्टराईले गरे एमाले कांग्रेस गठबन्धनको संकेत
काठमाडौं – सत्ता गठबन्धनमा खटपट भैरहेको र एमाले कांग्रेसको गठबन्धन बन्ने हल्लाबीच नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको सरकार एमालेको नेतृत्वमा बन्ने बताएका छन् । उनले अहिलेको समीकरण बदलिने र चुनावी सरकार एमालेको नेतृत्वमा बन्ने बताए ।
सरकारले चुनावको समयसम्म आफूलाई राख्न नसक्ने बताउदै नेता भट्टराईले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने बताए । उनले भने – ‘यो सरकारले चुनावको समयसम्म पनि आफूलाई राख्न सक्दैन । फेरि पनि एमालेको नेतृत्वमा सरकार बन्छ । सोही सरकारले चुनाव गराउँछ ।’
एमसीसी र भागबण्डाको कारण गठबन्धनमा खटपट सुरू भएको चर्चा चलिरहेका बेला नेपा योगेशको यो भनाईलाई अर्थपूर्ण मान्न सकिन्छ । उनले अब देउवालाई हटाएर एमालेकै नेतृत्वको सरकार बनाउने भन्दै त्यसको संकेत गरेका छन् ।
सरकार बनेको दुई महिना पार गर्दापनि पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग संवाद सुरू गरिसकेका छन् । देउवाले यसै महिना मात्र दूई पटक ओलीसंग वार्ता गर्न दूत पठाएका छन् । कानुनमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले यसको सहजीकरण गरिरहेका छन् ।
यस्तो अवस्थामा नेता भट्टराईले कतिपय अन्तर्वार्ता र कार्यक्रममा राजनीतिमा अनेक सम्भावना रहेको बताउन थालेका छन् । माधव कुमार नेपालसमूहमा लामो समय काम गरेका भट्टराईले पार्टी विभाजन हुँदा ओलीलाई साथ् दिएका थिए । उनी अहिले एमाले अध्यक्ष ओलीका प्रिय मानिन्छन ।
शुक्रबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले अब देउवालाई बिस्थापित गरेर एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने र चुनावको नेतृत्व पनि एमालेले गर्नुपर्ने बताएका छन् ।
माधवकुमार नेपाल ढिलोचाँडो पुनः एमालेमै फर्किने बताउदै नेता भट्टराईले विभाजनमा लागेकाहरूको मनमा अहिले एमाले नै रहेको बताए । उनले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किए जस्तै नेता नेपाल पनि एमालेमै फर्किने बताए । उनले भने – ‘जहाँ पनि पार्टी विभाजन गर्नु हुन्न भन्ने साथीहरू हुनुहुन्छ । विभाजनमा लागेकाहरूको मनमा पनि एमाले नै छ ।’
आफुहरु नेपालसहितको एमाले बनाउन लागि परेको बताउदै उनले भने – ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो, पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’