भ्रष्ट र गफाष्टीक ओलीको नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउँदैन: डा. भट्टराई - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

भ्रष्ट र गफाष्टीक ओलीको नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउँदैन: डा. भट्टराई



काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको विदाईमा न रुनु न हाँस्नुको अवस्था भएको बताएका छन् ।

विज्ञको रूपमा हेरिएका खतिवडाले आफ्नो विज्ञताको राम्रो सदुपयोग गर्न नसकेको समेत भट्टराईले बताएका छन्। अर्थमन्त्रीबाट बिदा भएका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको समेत उनको तर्क छ।

अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर र दुई तिहाई निकट बहुमतको आड पाएका खतिवडाले उक्त अवसर कनिका छरेरै बिताएको डा. भट्टराईले आरोप लगाए । उनले गुणत्मक फड्को मार्ने काम नगरे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खतिवडाजस्तो अर्को अर्थमन्त्री आउने सम्भावना भने कम रहेको प्रतिक्रिया दिएका छन्।

‘डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन।२/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले। ओलीको निरंकुश, भ्रष्ट र गफाष्टीक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु!’

बिहीबार बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सरकारका तर्फबाट सिफारिस गर्ने निर्णय गरेपछि अर्थमन्त्री डा. खतिवडा सरकारबाट बाहिरिनु परेको हो।