सरकार परिवर्तन र बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने चर्चा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सरकार परिवर्तन र बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने चर्चा



काठमाडौँ- कोरोना महामारीले ल्याएका समस्या, चुनावी घोषणा पत्रमा गरिएका बाचा र जनताका समस्यालाई रद्दीको टोकरीमा फ्याँकेर दुई तिहाई नजिकको शक्तिसहितको सरकार लिएर बसेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा अल्पमतमा मात्रै होइन संकटमा परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चलिरहेको बेला सरकारप्रति जनआक्रोश बढ्दै गैरहेको छ । यससंगै केहि राजनीतिक दल र शक्तिकेन्द्रहरूले सरकारको विकल्पबारे अभ्यास थालेको गाईगुई सुनिन थालेको छ ।

नेकपाकै शीर्षस्थ नेताहरुले काम गर्न नसकेको र पार्टीको म्यान्डेड नमानेको भन्दै प्रधानमन्त्री ओलीलाई पटक पटक पदबाट राजिनामा दिन सुझाव दिइरहेका छन् । तर, प्रधानमन्त्री ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने भनिरहेको बेला ठुला राजनीतिक दलहरूले भने प्रधानमन्त्री ओलीको विकल्प खोजिनुपर्ने भन्दै अभियान थालेका छन् ।

ओली नेतृत्वको सरकार संकटमा रहेको बेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले काँग्रेस तथा जसपा नेपालका नेताहरुसँग आन्तरिक रुपमा छुट्टाछुट्टै छलफल गरिरहेका छन् । यदि नेकपा फुट्यो भने बहुमतको सरकार बनाउनका लागि काँग्रेस वा जसपा नेपालको सहयोग आवस्यक पर्छ ।

नेकपाभित्रैबाट दुई राजनीतिक दलसँग लगातार सरकार परिवर्तन र अबको सम्भावनाका बिषयमा छलफल भैरहेको समेत स्रोतले दाबी गरेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मुख्य नेता रहेको जसपा नेपालसंग यो बिषयमा विभिन्न चरणमा छलफल अगाडी बढेको समेत बताइएको छ।

उक्त छलफलमा डा. भट्टराईलाई अबको प्रधानमन्त्री बनाउनको लागि समेत छलफल भएको स्रोतले बताएको छ । त्यहि छलफलकै आधारमा जसपा नेपालले भट्टराईलाई पार्टीको पहिलो अध्यक्ष र दलको नेता चयन गरेको समेत स्रोतको दाबी छ । यता भट्टराईलाई पार्टीको मुख्य नेता बनाइनु र जसपाका मुख्य नेताहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने आवाज जोद्तोड़ले उठाउन थालेकाले यसको तारतम्य पनि मिलेको बताइन्छ ।

उता नेकपाका शिर्ष नेताहरूले नेपाली कांग्रेससंग पनि छलफल गरिरहेको बुझिएको छ । तयारीका लागि नेकपाका नेताहरुले यी दुवै दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेको र नेकपामा प्रधानमन्त्री ओलिविरुद्ध कडा मोर्चावन्दी भैरहेको आधारमा पनि अब सरकारको विकल्पबारे ठोस आवाज उठ्ने अनुमान गर्न सकिन्छ ।

यस अवस्थामा जसपाले सरकारको विकल्पबारे जोडतोडले कुरा उठाउन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आजै आफ्नो फेसबुकमार्फत ओली नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालेको छ । जसपा नेपालले पनि लगातार सरकारको विकल्प खोज्ने विषयमा जोड दिएका रहेको छ ।

सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो समाजिक सञ्जाल तथा विभिन्न औपचारिक मञ्चहरुबाट ओली नेतृत्व सरकारको विकल्प खोजौँ भनि आह्वान गर्दै आएका छन् ।

कोरोना महामारी फैलिएको अवस्थामा सरकारले आफ्नो जिममेवारीपूर्वक कार्य गर्न नसकेकोे आरोप लगाउँदै यादवले यस्तो संकटको घडीमा सरकारले आफ्नो हात झिक्नु र पीसीआरसम्मको परीक्षण पनि निःशुल्क गराउन नसक्नु गैरजिम्मेवार काम रहेको टिप्पणी गरेका छन् ।

यादवले आफ्नो जीवन रक्षा आफैं गर, सरकारले सक्दैन भन्नु जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनु, के नेपालमा जनताका लागि यो सरकार हैन र ? केपी ओली सरकारको के काम भनि प्रश्न गरेका छन् ।

आफू असफल र असक्षम सिध्द भइसकेपछि पनि किन सरकारमा बसिरहनु भनि प्रश्न गर्दै अध्यक्ष यादवले अब जनता नै सचेत हुन जरुरी छ र त्यसको विकल्प खोज्ने बेला आएको बताएका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा सहभागि थिए । तर प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि यादव राजीनामा दिएर निस्केका हुन् ।