त्रिलोचन भट्टले विश्वासको मत पाउने पक्का - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

त्रिलोचन भट्टले विश्वासको मत पाउने पक्का



काठमाडौं- मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउने निश्चितजस्तै भएको छ। नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल पक्षले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो। आज बिहान बसेको बैठकले भट्टको पक्षमा मतदान गर्न ह्विप नै जारी गर्ने निर्णय गरेको छ। ५२ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि २७ मत आवश्यक पर्छ।

सो पक्षले एमालेका २४ सांसदमध्ये आफ्नो पक्षमा कम्तीमा १५ जना रहेको दाबी गरेको छ। माओवादीका १३ सांसद छन्। यता, कांग्रेसले भने विश्वासको मत पाउने अवस्था नआएमा मात्र पक्षमा मत दिने निर्णय गरेको छ। अन्यथा तटस्थ बस्ने निर्णय गरेको छ। कांग्रेसका १२ सांसद रहेका छन्।

जनता समाजवादी पार्टीले भने विश्वासको मत नदिने निर्णय गरेको छ। केन्द्रमा भएको सत्तासमीकरणका कारण माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी बताए। सुदूरपश्चिम प्रदेश सभामा कृष्णबहादुर चौधरी र मालामति राना गरी जसपाका दुईजना प्रदेशसभा सदस्य छन्।

यता, नेकपा एमालेको ओली समूहले भने प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको छ।