मदन भण्डारीको हत्या माधव नेपालको षड्यन्त्रमा भएको मन्त्री भट्टको संकेत
धनगढी- स्वर्गीय नेता मदन भन्डारीको हत्यामा माधव नेपालको षडयन्त्र हुनसक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संकेत गरेका छन् ।
धनगढीमा भएको प्रेस संगठन नेपालको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले मदन भण्डारीको हत्यामा प्रधानमन्त्री ओलीको हात नभएर माधवकुमार नेपालको हात रहेको हुन सक्ने संकेत गरेका हुन् ।
मन्त्री भट्टले भने, ‘मदन भण्डारीको हत्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्र छ भन्दै हल्ला फिजाइएको छ, तर बुझ्दै जाँदा त्यतिखेर नेकपा एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै रहेछन् । यथार्थ कुरा बाहिर आएको छैन् ।’
मन्त्री भट्टले मदन भण्डारीको मृत्युपछि जीवितै रहेका चालक अमर लामाको हत्या माओवादीले गरेको दाबी गरे । ‘अमर लामालाई माओवादीकै कमरेडहरूले समाते,’ मन्त्री भट्टले अगाडि भने, ‘मर्यो भने पनि उनलाई मारिएको हो । दरबार हत्याकाण्ड जस्तै यो कुरा पनि अहिलेसम्म बाहिर आएको छैन् ।’
२०५० साल जेठ २ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रीत सवार जीप दासढुंगामा दुर्घटनामा परेको थियो ।