भत्ता लिन हाजिर गर्दै, बाहिरिँदै - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भत्ता लिन हाजिर गर्दै, बाहिरिँदै



कान्तिपुर :काठमाडौं । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरू संसद् भवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । बिहीबारको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष नेताहरूसमेत उपस्थित भएनन् ।

दोस्रो बरीयताका नेता पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन । सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थित हुने गरेका छन् । बैठकको अन्तिममा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा मात्रै थिए ।

प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । तर, तीन बजेसम्म बस्नेमा सत्तापक्षका २६ र प्रतिपक्षका २६ सांसद मात्रै थिए । हलका अधिकांश सिट खाली थिए । केही सांसद क्यान्टिनमा थिए । बैठककक्षमै रहेका सांसद पनि संसद् सञ्चालन नियमावलीविपरीत मोबाइल चलाउन व्यस्त थिए । केही आपसमा गफ गरेर बसेका देखिन्थे । रोस्ट्रममा गएर बोल्ने सांसदको कुरा सुन्ने सांसद कमै थिए । यतिसम्म कि संसद्मा बोल्न नाम टिपाएका समेत उपस्थित थिएनन् । बोल्नका लागि सभामुख कृष्णबहादुर महराले तिलकबहादुर महतको नाम पटक–पटक उच्चारण गरे पनि उनी बैठककक्षमै थिएनन् ।

पूर्वसभामुख ओनसरी घर्तीसमेत ३५ मिनेट बैठकमा बसेर बाहिरिइन् । प्रतिदिन २ हजार यातायात खर्च पाउने भएपछि सांसदहरू हाजिर हुन मात्रै बैठक कक्ष पुग्ने र लगत्तै बाहिरिने क्रम निरन्तर चल्दै आइरहेको छ । नीति तथा कार्यक्रमको छलफलमा पनि सांसदको उपस्थिति न्यून भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि सभामुख कृष्णबहादुर महराले सांसदलाई ध्यानाकर्षण गराएका थिए । सचेतक र प्रमुख सचेतकले भने सांसदहरूको बचाउ गरेका छन् । ‘केही साथीको काम भएर पनि निस्केको हुन सक्छ,’ नेकपाका प्रमुख सचेतक देव गुरुङले भने ।