माइतीघरमा हल्ला गर्नेहरू वास्तविक उखु किसान नै होइनन्: मन्त्री भट्ट - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

माइतीघरमा हल्ला गर्नेहरू वास्तविक उखु किसान नै होइनन्: मन्त्री भट्ट



काठमाडौं- वर्षौँसम्म ब्यापारीबाट ठगिएकै कारण काठमाडौंमा आएर आन्दोलन गरिरहेका किसानहरू वास्तविक उखु किसान नभएको उद्योग मन्त्रालयमा चर्चा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैले उनीहरू वास्तविक किसान नभएको बताएका छन् ।

मन्त्रालयमै छलफलको क्रममा चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएपछि पत्रकारहरूसँग मन्त्री भट्टले यस्तो बताएका हुन्।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताए । त्यसलगत्तै मन्त्री भट्टले उनीहरू उखु किसान नभएर विचौलिया भएको विवादित अभिव्यक्ति दिएका छन् ।

मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएका छन् । बिचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएका उद्योगीहरुले बताएका मन्त्री भट्टले बताए।

उद्योगीहरुले सुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै बिचौलियालाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई मन्त्री भट्टले सुनाए।

उनले भने, ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका बिचौलियाहरु रहेछन् भने उहाँहरुबाटै थाहा पाएँ। सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो। त्यो भएर तपाईंहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्न पर्‍यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं।’

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग र कृषि मन्त्रालय बसेर छलफल गरी रणनीति बनाउन लागेको पनि बताए। अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि उनले बताए।