श्रीमतीको भाषण सुन्दै गर्दा श्रीमानलाई जीवनकै ठुलो झट्का लागेपछि... - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

श्रीमतीको भाषण सुन्दै गर्दा श्रीमानलाई जीवनकै ठुलो झट्का लागेपछि…



काठमाडौं- मंगलबार अपरान्ह प्रतिनिधिसभा बिघटनसम्वन्धी मुध्द्दाको फैसला सुनाउने तयारी हुँदै थियो । जन्मदिनका सारा पूजापाठ र सगुनग्रहण सकेर ठीक त्यति नै बेला प्रधानमन्त्री ओली भने बालुवाटारमा श्रीमती राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूतिहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा व्यस्त थिए ।

सिंगो मुलुक विभाजित हुनेगरी आफैले गरेको निर्णयमाथि अदालतले रोक लगाउँदै छ भन्ने पूर्वअनुमान प्रधानमन्त्री ओलीलाई पक्कै थियो होला । बालुवाटारमा आयोजित कार्यक्रमस्थलको मञ्चमा रहेकै बेला ओलीको मोबाइलमा सर्वोच्चले संसद पुनर्स्थापना गर्ने निर्णय भएको म्यासेज पुग्यो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियो क्लिप्समा मञ्चमा बसेका प्रधानमन्त्री ओली म्यासेज पढेपछि निकै निराश मनस्थितिमा रहेको देख्न सकिन्छ । उक्त भिडियोमा शाक्य पुस्तकका बारेमा चर्चा गर्दै छिन भने ओली निराश मुद्रामा मोबाइल चलाएर बसेका छन् ।

संयोग कस्तो भने हिजै प्रधानमन्त्री ओलीको जन्मदिन पनि हो । पारिवारिक माहोलमा खुशी हुनुपर्ने दिन प्रधानमन्त्रीलाई सर्वोच्चको निर्णयले जीवनकै सर्वाधिक ठूलो झट्का दिएको थियो ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिन । गतवर्ष हिजैका दिन उनको जन्मोत्सव तेह्रथुमको आठराईमा धुमधामका साथ मनाइएको थियो । प्रधानमन्त्रीले आफू जन्मेको घरको आँगनमा शुभचिन्तक व्यापारीहरूले काठमाडौंबाट हेलिकप्टरमा लगेको नेपालको नक्सा अंकित केक काटेर सबैलाई खुवाएका थिए । त्यसअघि काठमाडौंको सरकारी निवासमा समेत केक काटेर नजिकका पार्टी नेता तथा मन्त्रीहरूसँग ६९ औं जन्मोत्सव हर्षोल्लासपूर्वक साटासाट गरेका थिए ।

६८ औं जन्मदिन मनाउने क्रममा प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा स्याउको बिरुवा गमलामा रोपेर मनाएका थिए । त्यसअवसरमा श्रीमती राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी थिइन् । त्यस अवसरमा केक पनि काटिएको थियो । त्यतिखेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहान बालुवाटार पुगेर शुभकामनासमेत व्यक्त गरेका थिए ।

अघिल्लो चोटी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सव भारतमा मनाएका थिए । भारतको राजकीय भ्रमणको क्रममा रहेका ओलीले त्यतिखेर नयाँ दिल्लीको होटल ताजमा केक काटेर जन्मदिन मनाएका हुन् । ६५ औं जन्मदिनमा नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक भेटवार्तामा मोदीले ओलीलाई जन्मदिनको शुभकामना दिएपछि वार्ता प्रारम्भ भएको जनाआस्थाले लेखेको छ ।