भारतमा काम गर्ने नेपालीका समस्या चाँडै समाधान हुन्छन :प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतमा काम गर्ने नेपालीका समस्या चाँडै समाधान हुने बताएका छन् । भारत भ्रमणका क्रममा नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपालीसंघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले भने, ‘भारतमा काम गर्ने तल्लो तहका कामदारदेखि स्वतन्त्र तरिकाले व्यवसाय सञ्चालन गर्ने नेपाली कामदारका विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलसँग कुराकानी भएको छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले दुवै देशमा बहुमतको सरकार रहेकाले भारतमा नेपाली कामदारले भोग्दैका समस्या समाधान हुने आश्वासन दिए । उनले सल्लाहाकार डोबलसँग झण्डै ३ घण्टा नेपालीका समस्या, दुई देशबीच भएका सम्झौताका बारेमा छलफल भएको पनि बताए ।
प्रचण्डले नेपाल र भारतबीच भएका विभिन्न सम्झौता र समझदारीमा केन्द्रित आफ्नो भ्रमण रहेकोसमेत बताएका छन् । प्रचण्डले भने,‘भारतले पटकपटक गरेका प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’