भरतपुरमा नयाँ सहमति, पुनः सुचारु भयो मतगणना
भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा विवादपछि रोकिएको मतगणना २५ मिनेटपछि पुनः सुरु भएको छ। नयाँ सहमति भएपछि मतगणना पुनः सुचारु भएको हो ।
मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर गरेपछि विवाद उत्पन्न भएको थियो। विवादपछि एमालेका प्रतिनिधिले मतगणना बहिस्कार गरेका थिए ।
सूर्य चिह्नमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले मत बदर गरेका थिए । त्यसपछि राज्य शक्तिको दुरुपयोग गर्दै एमालेले आफूहरूलाई हराउन खोजेको आरोप लगाएको थियो।
सर्वदलीय बैठकले स्वस्तिक चिन्ह प्रस्ट भएको मतपत्रलाई सदर मान्ने निर्णय गरेकाले सोही अनुसार सहमति भएपछि पुनः मतगणना सुरु भएको हो। नेताहरूबीच विवादित मतपत्रलाई बदर मान्ने सहमति भएको छ।
भरतपुरमा ४ हजार ८ सय ७७ मत गणना भइसकेपछिको अवस्थामा विवाद भएको थियो। भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन्। रेणुले १ हजार ७२७ मत प्राप्त गरी अग्रता बनाएकी छन्।
रेणुका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १ हजार ६४७ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ५७९ मत प्राप्त गरेका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १ हजार ८९५ मत प्राप्त गरी अग्रस्थानमा छन्। राप्रपाकी हिमला गुरुङले १ हजार ३३३ मत प्राप्त गरेकी छन्।