भरतपुर महानगरपालिका :५ सयबाट बढाएर १० हजार रुपैयाँसम्म कर ,चौतर्फी बिरोध ! - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

भरतपुर महानगरपालिका :५ सयबाट बढाएर १० हजार रुपैयाँसम्म कर ,चौतर्फी बिरोध !



चितवन- भरतपुर महानगरपालिकाले २ हजार प्रतिशतसम्म कर बढाएपछि सर्वत्र विरोध भएको छ।

कर वृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आए पनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै २ हजार प्रतिशतसम्म बढाएको हो।

महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई ५ सयबाट बढाएर १० हजार रुपैयाँ कर पुर्या२एको छ। १ हजार रुपैयाँ वार्षिक तिर्दै आएका मैदा उद्योगलाई कर बढाएर २० हजार रुपैयाँ पुर्यारइएको छ भने १ हजार तिर्ने प्राविधिक तथा व्यावसायिक शिक्षालयलाई पनि २० हजार रुपैयाँ कर तोकिएको छ।

पेट्रोलपम्पले अब वार्षिक २५ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ। यसअघि पेट्रोलपम्पले ४ हजार रुपैयाँ कर तिर्दै आएको थियो। पोल्ट्रीको राजधानी मानिने चितवनमा रहेका ह्याचरी उद्योगले ६ हजार रुपैयाँ तिर्दै आएकोमा अब ३० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ।

यसैगरी, पेन्टस् उद्योगले ४ हजार ५ सय बाट ५० हजार, सिनेमा हलले २ हजारबाट २५ हजार, सिसा पसलले १ हजार ५ सय बाट २० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले देशका ४ महानगरपालिकामा सबैभन्दा बढी कर भरतपुर महानगरपालिकाले लगाएको बताए। उनका अनुसार भरतपुरमा तय गरे जति कर अन्य कुनै पनि महानगरपालिकामा छैन। प्रधानले भने, ‘कर बढाउनुहोस्, तर अस्वाभाविक नबढाउनुहोस् भनेका छौँ। अन्य महानगरपालिकाको हाराहारीमा कर तिर्नु ठीकै हो, तर सबैको भन्दा उत्पातै बढी भयो।’

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विगतका वर्षमा कर न्यून मात्रै रहेकाले अहिले धेरै बढेको जस्तो देखिए पनि स्वभाविक रहेको दाबी गरे। रासस