जसरी खुल्यो त्यसरी नै बन्द भयो भरतपुरको कोरोना विशेष अस्पताल - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जसरी खुल्यो त्यसरी नै बन्द भयो भरतपुरको कोरोना विशेष अस्पताल



चितवन- निकै चर्चा बटुलेको भरतपुरको अस्पताल अन्तत: बन्द भएको छ । निर्णय भएको ७२ घण्टामा नै तयार भएको भनेर चर्चामा आएको भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल मंगलबारदेखि बन्द भएको हो ।

भरतपुर अस्पतालले मंगलबार प्रेस विज्ञप्ती निकालेर अस्पताल बन्द गरिएको जनाएको छ । उक्त अस्पतालमा संक्रमित बिरामीहरु सुत्ने बेडमुनि बाथरुमको पानी बग्‍न थालेको थियो । अस्पतालमा भर्ना भएका संक्रमितहरुले नै भिडियो सार्वजनिक गरेर बेडमुनी पानी बग्‍ने गरेको दृश्य देखाएका थिए ।

अस्पतालले निकालेको विज्ञप्तीमा यो विषयमा केही बोलिएको छैन । त्यहाँ रहेका चारजना संक्रमित डिस्‍चार्ज भएको, भर्ना भएका अन्य १८ जना संक्रमितलाई शनिबार र आइतबार भरतपुरको सरकारी अस्पतालमा सारेपछि उक्त कोरोना विशेष अस्थायी अस्पताल बन्द गरेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कोरोनाको उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गत चैतमा जिल्लाका सरकारी, शिक्षण र निजी अस्पताललाई सबैमा कम्तीमा ७० बेडको आइसोलेसन वार्ड बनाउन भनेको थियो ।

लगत्तै भरतपुर महानगरपालिकाको संक्रियतामा जिल्लाका अन्य अस्पताल र निजी क्षेत्र भेला भएर भरतपुर क्षेत्रमा ७० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउने निर्णय गरेका थिए ।

उक्त निर्णय भएको ७२ घण्टाभित्रै चैत ७ गते अस्थायी अस्पताल तयार भएको थियो । चैत १९ मा यो अस्पतालको व्यवस्थापन भरतपुर अस्पताललाई जिम्मा लगाउने निर्णय भएको थियो ।

अस्थायी अस्पताल बनाउने भएपछि १२ वटा ट्वाइलेट, बाथरुम निर्माणमा २५ लाख ४४ हजार ५४८ रुपैयाँ खर्च भएको विवरण पेश भएको छ ।

भरतपुर अस्पतालले व्यवस्थपन लिनुअघि उक्त अस्थायी अस्पतालका लागि एक करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भएको विवरण छ । अस्थायी अस्पताल तयार हुँदा प्रशंसा पाएको थियो ।