भरतपुर कांग्रेसको चिन्ता: प्रचण्डले फेरि धोका दिन्छन् कि ? - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भरतपुर कांग्रेसको चिन्ता: प्रचण्डले फेरि धोका दिन्छन् कि ?



भरतपुर- नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भरतपुरमा गठबन्धनको जित निश्चित रहेको बताएका छन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले ५ दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएपनि भोलीको दिनमा धोका नदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे ।

‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला । गठबन्धनबाट रेनु दाहालजीसहित सबैलाई हामी जिताउँछौं तर जितिसकेपछि कांग्रेसलाई धोका नहोस्’, श्रेष्ठले भने ।

भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै श्रेष्ठले विगतमा जस्तो धोका नदिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले स्थानीय चुनावमा मात्रै नभएर राष्ट्रिय चुनावमा पनि गठबन्धन कायम रहने प्रतिवद्धता गर्न शीर्ष नेताहरुसँग माग गरेका छन् । चुनावी सभामा बोल्दै केन्द्रीय सदस्य गुरुङले चुनावको बेला गठबन्धन गर्ने तर जितेपछि भंग गर्ने काम नगर्न शीर्ष नेतासँग आग्रह गरेका हुन् ।

‘गठबन्धनका नेताहरुले प्रतिज्ञा गर्नुपर्यो । यो गठबन्धन निरन्तर रहन्छ भनेर । पद पाउनमात्रै गठबन्धन गरेको हो भने भोली जनताले भरोस गर्न छाड्नेछन्’, गुरुङले भने ।

उनले गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएकोले गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताए ।