भरतपुरका कांग्रेस नेता कार्यकर्ताले दिए सामूहिक राजिनामा, गठबन्धनलाई धक्का
चितवन- भरतपुर महानगरपालिका कांग्रेसले माओवादीलाई नै सुम्पिने भएपछि कांग्रेस कार्यकर्ताहरूले सामूहिक राजिनामा दिएका छन् । माओवादीलाई नै दिन थालेको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन् ।
भरतपुरमा रेणुलाई फेरि मेयरमा उठाउने कांग्रेसको निर्णयले चिढिएका नेता कार्यकर्ताको यस्तो निर्णयले पाँच दलीय गठबन्धनलाई भने धक्का लागेको छ ।
भरतपुर वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् । बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।
प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।
राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।
भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।