गठबन्धनविरुद्ध भरतपुर कांग्रेसका तीन निर्णय
भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र)लाई दिए नेपाली कांग्रेसका स्थानीय नेताहरुले सत्तारुढ गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने भएका छन्।
भरतपुरका २९ वटै वडाका कांग्रेस सभापतिहरुले मेयर कुनै पनि हालतमा माओवादीलाई दिन नसकिने निर्णय गरेको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरीलाई मेयर बनाउनुपर्ने दवाव दिइरहेका वेला स्थानीय नेताहरुले गठबन्धन र पार्टी केन्द्रको समेत निर्देशन नमान्ने निर्णय गरेका हुन्।
कांग्रेसले मेयर नपाए भरतपुर महानगरमा मेयर र उपमेयर सहित सबै वडाहरुमा कांग्रेसको अध्यक्ष सहित पाँच जना नै उम्मेदवार उठाउने र गठबन्धनको सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरिएको हो।
पहिलो निर्णय:
कांग्रेस चितवन जिल्लाको आव्हानमा २० चैतमा पार्टी केन्द्रीय सदस्यहरु, मन्त्रीज्यू, महासमिति सदस्यहरु, पार्टीका पूर्व सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, प्रदेश सभापतिहरु, भरतपुर महानगर सभापति, भरतपुर महानगरका सबै वडाका सभापतिहरुको संयुक्त बैठकमा भरतपुर महानगरमा मेयर नभए गठबन्धन नगर्ने निर्णय गरिएकोमा त्यसको केही दिनमा नै जिल्ला सभापति र महानगर सभापतिज्यूहरुले गठबन्धन गर्ने भन्दै अन्य दलहरुसँग गरिएको सहमति प्रति हामी सम्पूर्ण वडा सभापतिहरुको ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं।
दोस्रो निर्णय:
सबै वडा सभापतिहरुको बैठकले अब कांग्रेस केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं।
तेस्रो निर्णय:
हाम्रो निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर र उपमेयर सहित सबै वडाहरुमा कांग्रेसको अध्यक्ष सहित पाँच जना नै उम्मेदवार उठाउने निर्णय गर्नुको साथै गठबन्धनको सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो।