भारतको राज्यसभामा नेपालको चर्चा ! - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

भारतको राज्यसभामा नेपालको चर्चा !



काठमाडौं– भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्मा चासो व्यक्त गरिएको छ ।

बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले नेपाल सरकारको उक्त निर्णयबारेमा भारत सरकारबाट जवाफ मागेका थिए । समाजवादी पार्टीका सांसदद्वय रवि प्रकाश बर्मा र निरज शेखरले ‘नेपाल सरकारको निर्णयको पछाडि के–कस्तो कारण रहेको, यस विषयमा भारतको विदेश मन्त्रालयले नेपाली पक्ष समक्ष छलफल गरेको छ कि छैन ? यदि छ भने नेपाली पक्षको प्रतिक्रिया के रह्यो ? र यदि छलफल गरिएको छ भने त्यससम्बन्धि प्रष्ट जवाफ दिन’ विदेश मन्त्रालयसमक्ष माग गरेका थिए ।

सांसदले सोधेको प्रश्नको जवाफमा भारतका विदेश राज्यमन्त्री जनरल विके सिंहले २५ मंसिर (१० डिसेम्बर २०१८) को नेपालको मन्त्रिपरिषद्को बैठकले ठूला दरका भारु नोटको प्रयोग, ओसारपसार र राख्न रोक लगाउनेसम्बन्धी निर्णय गरिएको कुरा नेपाल सरकारले भर्खरै मात्र जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएको जनाएका छन् । उनले यस विषयमा नेपाल सरकारसँग कुनै पनि छलफल नभएको समेत प्रष्ट पारेका छन् ।

सांसदका प्रश्नको जवाफ दिने क्रममा मन्त्री सिंहले सन् २०१५ मा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक इण्डिया (आरबीआई) ले भारतबाट नेपाल भ्रमणमा जानेहरुका लागि प्रतिव्यक्ति ५०० र एक हजार दरका नोट २५ हजार भारुसम्म लैजान पाउने सुविधासम्बन्धी निर्णय गरेको र नेपाल राष्ट्र बैंकले पनि त्यसैअनुसारको परिपत्र जारी गरेको जानकारी दिएका थिए । ‘सन् २०१६ को भारत सरकारको नोटबन्दीको निर्णय पछि भने राष्ट्र बैंकले पाँच सय र हजार दरका भारु नोटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो’ मन्त्री सिंहले आफ्नो जवाफमा भनेका छन् ।

यसैबीच नेपाल राष्ट्र बैंक र आरबीआईबीच प्रतिबन्धित नोटका बारेमा छलफल भएको समेत मन्त्रीले बताएका छन् । तर, उनले नेपालसँग रहेको प्रतिबन्धित भारु नोट सटहीका सम्बन्धमा कुनै धारणा राखेनन् । भारत सरकारले दुई वर्षअघि लिएको नोटबन्दीको निर्णयका कारण नेपालमा वित्तीय क्षेत्र र सर्वसाधारणसँग रहेको ठूलो परिणामको भारु प्रयोगविहीन भएको छ ।

नेपालीहरुसँग रहेको प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका नोटहरुको परिणाम एकिन नभए पनि नेपालको वित्तीय क्षेत्रसँग करिब पाँच करोड भारु रहेको राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेपालमा करिब दश अर्ब भारु मूल्य बराबर प्रतिबन्धित भारु नोट रहेको दाबी गरेको छ । तर, नोटबन्दीको दुई वर्ष बितिसक्दा समेत भारतले नेपाल सरकारको ढुकुटीमा रहेको भारु साट्न चासो देखाएको छैन । कान्तिपुर दैनिकबाट