भारतकै कारणले सीमा विवाद भएको हो, नेपाल एक इन्च पछि हट्दैन: मन्त्री ज्ञवाली - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतकै कारणले सीमा विवाद भएको हो, नेपाल एक इन्च पछि हट्दैन: मन्त्री ज्ञवाली



काठमाडौं – परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपाल आफ्नो भूमिबाट एक इन्च पनि पछि नहट्ने बताएका छन् ।

बीबीसी हिन्दीसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले नेपाल परनिर्भरताको पक्षमा नरहेको भन्दै भारतले नेपालको मिचिएको भूभागबाट आफ्ना सेना फिर्ता लानुपर्ने बताएका छन् ।

‘हामी (नेपाल) आफ्नो भूमिबाट एक इन्च पनि पछि हट्न चाहँदैनौं । हामी एउटा मात्र देशमा निर्भर रहन चाहँदैनौं । हामी आपसी परनिर्भरताको पक्षमा छौं ’, उनले भने ।

त्यस्तै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच धेरै विषयमा समानता रहेको बताएका छन् । उनले दुई देशको साझा संस्कृतिले मानिसहरुबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने बताएका छन् ।

‘भारत र नेपालबीच धेरै विषयमा समानता छ । दुई देशबीचको सम्बन्ध सुदृढ पार्न सांस्कृतिक समानता सबैभन्दा महत्त्वपूर्ण कडी हो’, उनले भने, ‘दुबै देशहरूले गौरवशाली सभ्यताको प्रतिनिधित्व गर्छन् र उनीहरूसँग प्रचुर ज्ञानको परम्परा छ । आयुर्वेद, योग, ज्योतिष भारत र नेपाल दुबैका लागि समान छन् ।’

मन्त्री ज्ञवालीले नेपाल र भारतीय नागरिकबीच न्यानो सम्बन्ध रहेको पनि बताएका छन् । उनले नागरिकबीचको धर्मलाई देशका आन्तरिक मामिलासँग जोड्न नहुने पनि बताएका छन् ।

‘नेपाल र भारतबीचको सम्बन्धमा सामयिक उतार चढावहरू छन्, तर सांस्कृतिक सम्बन्धको जरा धेरै गहिरो छ । त्यसकारण दुई देशका मानिसहरु बीचको सम्बन्ध न्यानो रहेको छ’, उनले भने, ‘तर हामीले यो बुझ्नु आवश्यक छ कि संस्कृति र धर्म मिसिनु हुँदैन । धर्म र संस्कृति दुबै फरक पक्ष छन् । धर्म व्यक्तिगत विश्वासको कुरा हो । यो एकदम निजी हो । म विश्वास गर्दछु कि धर्मलाई न त देशको आन्तरिक मामिलामा ल्याइनु पर्छ न अन्य देशहरूसँगको सम्बन्धमा ल्याउनु पर्छ ।’

उनले नेपाल र भारतबीचको सीमा विवाद तत्काल सुल्झाउनुपर्ने बताएका छन् । मन्त्री ज्ञवालीले वार्ता र छलफलको माध्यमबाट सीमा विवाद हल गर्नुपर्ने बताए ।

मन्त्री ज्ञवालीले भने, ‘हेर्नुहोस्, नेपाल र भारत बीचको सीमा विवाद सुल्झाउनु पर्छ । जबसम्म यो समाधान हुँदैन, यस मुद्दाले हामीलाई सताउनेछ । यो समाधान बिना सम्बन्ध अविश्वास र समस्यामुक्त हुन सक्दैन । इतिहासको सुल्झिएका प्रश्नहरू जुन हामीले विरासतमा पाएका छौं ।’

मन्त्री ज्ञवालीले सीमा विवाद समाधानका विषयमा भारतले चासो नदिएको भन्दै वार्ता बन्द गर्न नहुने बताएका छन् । मन्त्री ज्ञवालीले नेपालले लामो समयदेखि सीमा समस्या समाधानका लागि वार्तालाप गर्दै आएको स्मरण गरेका छन् ।

‘हामीले विदेश सचिवस्तरीय वार्ता सुरु गर्ने प्रस्ताव पनि राख्यौं । तर, हामी सबै कुरा बन्द भएको पनि चाहँदैनौं । हाम्रो भारतसँग धेरै क्षेत्रमा गहिरो सम्बन्ध छ र हाम्रो सम्बन्ध सीमानाको विवादलाई सुल्झाउने प्रयासमा रहेको छ । मलाई थाहा छैन किन भारत यस मुद्दामा संवेदनशील छैन । बरु, भारतले यसलाई बेवास्ता गरिरहेको छ’, उनले भने, ‘नेपालको लागि धर्मशास्त्र र कालापानीको सवाल धेरै महत्त्वपूर्ण छ किनकि यो हाम्रो सार्वभौमिकता र अखण्डतासँग सम्बन्धित छ । यो नेपाली जनताका लागि पनि अत्यन्त महत्त्वपूर्ण मुद्दा हो । त्यसकारण, यो कुनै पनि हालतमा समाधान गर्नुपर्छ । यसका लागि हामीले ऐतिहासिक सन्धि, कागजात र प्रमाणलाई आधारमा मानेर गर्नुपर्छ ।’

मन्त्री ज्ञवालीले भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेको बताए । उनले भारतीय मिडियाले चिनियाँ राजदूतबारे आपत्तिजनक कुराहरु आएको बताए ।

‘प्रधानमन्त्री ओली र नेपालका चिनियाँ राजदूतबारे कैयौं आपत्तिजनक कुराहरु आएका थिए । जुन निकै अपमानजनक थियो । हामी चाहन्छौं कि मिडिया इमानदारी साथ काम गरोस् र मिडियाको साखमा प्रश्‍न नउठोस् । अरु कुनै वा तेस्रो देशले नेपालको विदेश नीतिको निर्णय लिन सक्दैन’, उनले भने ।

मन्त्री ज्ञवालीले भारतको भरातसँग बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । उनले नेपाल आफ्ना सबै छिमेकीहरूसँग विश्वव्यापी समानताको आधारमा सम्बन्ध विकास गर्न चाहेको बताए ।

मन्त्री ज्ञवालीले नेपालको विदेश नीतिमा सार्वभौमिकता र समानताको सम्मान गर्नु भारतका लागि सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताए ।

‘हाम्रो भारतसँग बहुआयामी सम्बन्ध छ । हामी कुनै एक देशको सम्बन्धलाई अरू कुनै देशको सम्बन्धसँग तुलना गर्दैनौं । सबैको पूर्ण स्वतन्त्र सम्बन्ध छ’, उनले भने, ‘नेपाल भारतसँग बलियो सम्बन्ध बनाउन चाहन्छ । हामी भारतसँग बलियो आर्थिक सम्बन्धको साथ अगाडि बढ्न चाहन्छौं र हामीले यसमा सफलता पनि पाएका छौं ।’