भारतकाे बलमिच्याइँ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भारतकाे बलमिच्याइँ



कैलाली । भारतको दुधुवा नेसनल पार्कबाट दिनहुँ वन्यजन्तु आएर दुःख दिन थालेपछि पुनर्वास नगरपालिका–९ बीचफाँटाका किसानले सीमाक्षेत्रमा काँडेतार लगाउने योजना बनाए। स्थानीयको बालीनाली जोगिने भएकाले सो योजनालाई सम्बन्धित नगरपालिका तथा वडाले पनि सघाए। सीमावारि नेपाली भूमिमा २०७४ वैशाखमा लगाइएको तारबार भारतीय एसएसबी आएर उखेलिदियो।

त्यसैगरी २०७५ माघ १० गते धनगढीनजिकै डोकेबजार सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर तारबार गर्न थाल्यो। सीमाक्षेत्रनजिकै भारततर्फ रहेको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको भन्दै तारबार गर्न थालेको भारतीय पक्षले बतायो। नेपालतिरका स्थानीयले ट्रेन्च र तारबार गर्न नहुने भन्दै विरोध जनाए। विरोधपछि उक्त काम केही दिन स्थगित गरेको भारतले पुनः माघ अन्तिम सातातिर निर्माण थाल्यो। नेपालीको विरोध हुँदाहुँदै भारतले ट्रेन्च खनेर काँडेतार लगाएरै छाड्यो।

उल्लिखित दुई प्रतिनिधि घटनाले सीमाक्षेत्रमा नेपाली पक्षले कानुनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै छाड्ने गरेको अवस्था दर्साउँछन्। पुनर्वास–९ बीचफाँटामा किसानले खेतीपाती जोगाउन गरेको तारबार गैरकानुनी थिएन। किनकि त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग होइन। तर अन्तर्राष्ट्रिय जैविक मार्ग भएकै कारण भारतले डोकेबजारमा बनाएको ट्रेन्च र तारबार भने गैरकानुनी थियो। भारतीय पक्षले डोकेबजारदेखि दक्षिण पश्चिमतर्फ करिब तीन किलोमिटर लामो ट्रेन्च खनेर त्यसमाथि काँडेतार लगाएको हो। नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ड्यामका कारण नेपाली भूभाग यस वर्षको वर्षायाममा डुबानमा परेका थिए।

बीचफाँटामा दुधुवा नेसनल पार्कका वन्यजन्तु आएर किसानको बालीनाली खाइदिन थालेपछि काँडेतार लगाइएको पुनर्वास–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए। ‘हामीले आफ्नो भूमिमा लगाएको काँडेतारबारसमेत भारतीय सीमा सुरक्षा बल एसएसबी आएर उखेलिदिए,’ उनले भने, ‘तर उनीहरूले हाम्रै नगरपालिकाको डोकेबजार क्षेत्रमा भने निर्बाध काँडेतार लगाए।’ नेपाली भूमिमै नेपालीले काँडेतार लगाउँदा भने उखेलिदिने भारतीय एसएसबीहरू अन्तर्राष्ट्रिय जैविक मार्गमा भने मनलाग्दी काँडे तारबार गर्ने गरेको उनले बताए। बीचफाँटामा किसानका बालीनाली वन्यजन्तुलाई खुवाउन तथा नेपाली भूमि कब्जा गर्न भारतीय पक्षले सीमामा काँडेतार लगाउन नदिएको स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले बताए। आजको नागरिक दैनिकमा धनगढीबाट पुष्पराज जोशीले यो समाचार लेखेका हुन् ।