भारतको चुनावमा अचम्मको नियम : उमेद्वारले अपराधिक रेकर्डको विज्ञापन गर्नुपर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतको चुनावमा अचम्मको नियम : उमेद्वारले अपराधिक रेकर्डको विज्ञापन गर्नुपर्ने



नयाँ दिल्ली: भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ।

आइतबार भएको मिति घोषणासँगै भारतभर निर्वाचन आचारसंहिता लागू भइसकेको छ।

यसैबीच भारतको निर्वाचन आयोगले लोकसभामा उमेद्वार बन्नेहरुले आफ्नो अपराधिक रेकर्ड पत्रिका र टेलिभिजनमार्फत कम्तीमा तीनपटक अनिवार्य विज्ञापनका रुपमा दिन निर्देशिका जारी गरेको छ।

यस व्यवस्थाको निर्देशन गत अक्टोबरमा नै भएको थियो। तर यो नियम पहिलोपटक भारतमा लागू हुने भएको हो।

आयोगका अनुसार राजनीतिक दलहरुले समेत आफ्ना उमेद्वारहरुको अपराधिक गतिविधिका बारे विज्ञापन दिनुपर्नेछ।

यस प्रावधान अनुसार राजनीतिक दल र तिनका उमेद्वारहरुले निर्वाचन प्रचारप्रसारका अवधिमा पत्रपत्रिका र टिभी च्यानलमा बेग्ला बेग्लै मितिमा अपराधिक रेकर्ड सार्वजनिक गर्नुपर्नेछ।

अपराधिक रेकर्ड नभएका उमेद्वारहरुले संशोधित फर्ममा आफ्नोबारे विवरण भर्नुपर्नेछ।

विज्ञापनमार्फत उमेद्वार र सम्बन्धित दलहरुले आफ्ना उमेद्वार बिरुद्ध कतिवटा आरोपहरु लगाइएका छन् र ती आरोपहरु प्रमाणति भएको छ कि छैन भनेर प्रकाशन गर्नुपर्नेछ।

यसरी प्रकाशित गरिएको समाचारको क्लिपिंगहरु समेत जम्मा गर्नुपर्नेछ।

यस्तै राजनीतिक दलहरुले आफ्ना उमेद्वारबारे जानकारी आफ्ना वेबसाइटमा अनिवार्य राख्नु पर्नेछ भने अनिवार्य रुपमा अपराधिक आरोप लगेका कूल उमेद्वारको संख्या निर्वाचन आयोगमा दर्ता गराउनु पर्नेछ।

यो प्रावधान पालना नगर्ने उमेद्वारको मनोनयन खारेज र राजनीतिक दलहरुको मान्यता रद्द वा निलम्बन हुन सक्ने बताइएको छ।