एमालेका प्रभावशाली नेता जोशी दलबलसहित नेकपा एसमा प्रवेश गर्दै - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

एमालेका प्रभावशाली नेता जोशी दलबलसहित नेकपा एसमा प्रवेश गर्दै



काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीसंग असन्तुष्ट बनेका छन् । ओलीले सहमति पालना नगरेको भन्दै जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने तयारी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको र विगतमा माधवकुमार नेपालनिकट नेतालाई पेलेको भन्दै उनले समाजवादीमा जाने तयारी गरेको बताइएको छ। एकीकृत समाजवादी गठन हुँदै माधव नेपाल समूहमा रहेका उनी अन्तिम समयमा एमालेमै बसेका थिए ।

१० बुँदे सहमति भएकाले एमालेमै रहने भन्दै उनले अन्तिम समयमा नेपालको साथ् छाडेका थिए । तर अहिले भने ओलीले सहमति पालना नगरेको आरोप लगाउँदै उनी एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

सुदूरपश्चिममा राम्रो पकड भएका नेता जोशीले एकीकृत समाजवादीमा आफ्नो समूह नै लिएर प्रवेश गर्ने तयारी गरेको बताइएको छ ।विगतमा एमालेमै रहँदा माधवकुमार नेपालले समानान्तर कमिटी गठन गर्दा जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।

पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरेको तर सो अनुसार नभएको भन्दै उनी पार्टी छोड्ने मनस्थितिमा पुगेको बताइएको छ । विगतमा नयाँ दल दर्ता हुँदा उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिएनन् । हाल भने आफूहरूमाथि खराब व्यवहार भएको लगायतका असन्तुष्टि व्यक्त गर्दै उनी एमाले छोड्न लागेका हुन् ।