व्यक्तिको नाममा प्रवेश गरेपछि भाँडियो मन्त्रिपरिषद पुनर्गठन - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

व्यक्तिको नाममा प्रवेश गरेपछि भाँडियो मन्त्रिपरिषद पुनर्गठन



काठमाडौँ- सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेकै बेला सचिवालय बैठकमा कुरा बाझिएको छ । पुनर्गठन प्रक्रिया अघि बढाए पनि सचिवालय बैठकमा व्यक्तिको नाममा प्रवेश गरेपछि सहमति नजुटेको स्रोतले बताएको छ ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भदौ २५ गते बसेको स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया अघि बढाएको थियो।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले औपचारिक रुपमा मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

‘आइतबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल भएको थियो। तर, मंगलबारको बैठकमा त्यस एजेण्डामा प्रवेश नै गरेन’, उनले आज बालुवाटारमा बसेको सचिवालय बैठकपछि भने।

स्थायी कमिटी र सचिवालयको निर्णयानुसार मन्त्रिपरिषद् हेरफेर सबैको सहमति​मा हुने उनले बताए। ‘स्थायी कमिटीको निर्णयानुसार सचिवालयको सहमतिमा मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुन्छ।’

सचिवालयमा शीर्ष नेताहरुबीच कुरा नमिलेकै कारण आइतबार बसेको बैठकमा प्रमुख बनेको एजेण्डामा मंगलबारको बैठकमा छलफल नभएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको बैठकमा दिएको तीन विकल्पका विषयमा छलफल भएपनि कुरा नमिलेको एक नेताले बताए । प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्प दिएका थिए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कार्यक्षमतामा कमजोरलाई मात्रै बिदा गर्नुपर्ने बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले भने सरकारलाई प्रभावकारी बनाउन धेरै मन्त्रीहरु नयाँ ल्याउनुपर्ने बताएका थिए ।

मन्त्रिपरिषद् हेरफेरको थप गृहकार्यका लागि ओली-दाहाल जुटे पनि व्यक्तिमा प्रवेश गरेपछि सहमति बन्न नसकेको बताइएको छ ।