राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण तय
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी चैतको दोस्रो साता बंगलादेशको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भन्डारी दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको बताइएको छ ।
बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीलाई बंगलादेशबाट निमन्त्रणा गरिएको थियो ।
बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रम तयारी गरेको छ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारी बंगलादेशको भ्रमणका लागि चैत ९ गते प्रस्थान गर्ने तय गरिएको छ।