भाग्यमानी जापान: अंक र गोल समान हुँदा पनि कसरी बन्यो बिजेता ?
मस्को- रुसमा जारी विश्वकपमा नकआउट चरण पुग्ने जापान एकमात्र एसियाली टोली बनेको छ। समूह ‘एच’मा सेनेगलसँग समान अंक, समान गोल भएपनि जापान फेयर प्लेका आधारमा अगाडि रहेर नकआउट चरणमा पुगेको हो। समूहको अन्तिम खेलमा बिहीबार पोल्यान्डले जापानलाई तथा कोलम्बियाले सेनेगललाई समान १-० गोलले हराए।
मस्को- दक्षिण अमेरिकी टोली कोलम्बिया र एसियाली टोली जापान रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन्।
समूह ‘एच’ अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा कोलम्बियाले सेनेगललाई १-० गोलले हरायो। सोही समूहको अर्को खेलमा पोल्यान्डले जापानलाई १-० गोलले पराजित गर्यो।
समूहमा तीन खेलबाट ६ अंक जोडेको कोलम्बिया विजेता बन्यो भने चार अंकसहित जापान उपविजेता बन्यो। सेनेगलसँग समान अंक भएपनि जापान फेयर प्लेमा अगाडि रहेको हो। समान गोलअन्तर र गरेको गोल पनि समान भएपनि जापान फेयर प्लेमा सेनेगलभन्दा अगाडि रहेको हो।
अन्तिम खेलमा जापान र सेनेगल दुवैलाई बराबरीको नतिजा निकालेपनि अगाडि बढ्ने स्थिती थियो। जापानविरुद्ध पोल्यान्डका जान बेदनारेकले ६० औं मिनेटमा गोल गरे। जारी प्रतियोगितामा पोल्यान्डको यो पहिलो गोल हो।
सेनेगलविरुद्ध कोलम्बियाका येरी मिनाले ७४ औं मिनेटमा हेड गोल गरे। समूहमा कोलम्बियाले तीन खेलबाट ६ अंक जोड्यो भने जापान र सेनेगलको समान चार अंक भयो। सेनेगल र जापानबीचको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। प्रतियोगितामा दुवै टोलीले चार गोल गरे भने चार गोल ब्यहोरे।
समान अंक भएको अवस्थामा गोल अन्तर र त्यो पनि समान भएपनि जसले बढी गोल गर्यो त्यस आधारमा अगाडि रहने टोलीको निर्क्योल गरिन्छ। त्यो पनि समान रहे हेड टु हेडका आधारमा निर्णय लिइन्छ। त्यो पनि समान भए फेयर प्लेका आधारमा निर्णय गरिन्छ।
जापान विश्वकपमा तेस्रो पटक नकआउट चरण पुगेको हो। उसले सन् २००२ र २०१० मा नकआउट चरणमा स्थान बनाएको थियो। उसले सन् १९९८ यता लगातार विश्वकप खेलिरहेको छ। यसपटक एसियाबाट दक्षिण कोरिया, इरान, साउदी अरब र अस्ट्रेलिया सहभागी थिए।
यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने ‘निल’ भएका छन्। कुनैपनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन्। दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिकाबाट एक टोली र युरोपबाट १० टोली नकआउट चरण पुगेका छन्।