कोरोना महामारीसँग डोनाल्ड ट्रम्पको भद्दा मजाक
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर गरेको पछिल्लो टिप्पणीका कारण उनकै प्रशासनका डाक्टर तथा कर्मचारी नै समस्यामा आएका छन् ।
ट्रम्पको आलोचनासँगै उनको टिप्पणीको जवाफ दिनु पर्दा डाक्टर तथा अरु अधिकारीहरु समस्यामा आएका हुन्।
ट्रम्पले बिहीबारको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा मानिसलाई ब्याक्टेरिया नाशक रसायनसहितको इन्जेक्सन लगाएमा शरीरमा रहेको कोरोना भाइरस मर्ने टिप्पणी गरेका थिए । यस्तै उनले घाममा बस्दा पनि भाइरसको अन्त्य हुने उल्लेख गरेका थिए ।
ब्याक्टेरिया नासक इन्जेक्सन सम्बन्धी टिप्पणीको चौतर्फी आलोचना भएको छ । स्वयम् डाक्टर तथा उच्च स्वास्थ्य अधिकारीले ट्रम्पको टिप्पणी अति खतरनाक र भ्रमपूर्ण वा पथभ्रष्ट गर्ने खालको रहेका भन्दै खारेज गरेका छन् ।
यसैगरी ब्याक्टेरिया वा जीवाणु नाशक रसायन उत्पादन गर्ने प्रमुख कम्पनीले पनि ट्रम्पको टिप्पणीपछि कडा चेतावनी दिँदै आफ्ना उत्पादन मानव शरीरमा नलगाउन सचेत गराएको छ ।
जीवाणु नाशक रसायन उत्पादक रेकिट बेनकाइजरले भनेको छ, ‘कुनै पनि अवस्थामा हाम्रा उत्पादनहरु इन्जेक्सन मार्फत वा अरु कुनै माध्यमबाट शरीरमा नलगाउनु होला ।’
राजनीतिक नेताहरुले पनि ट्रम्पको टिप्पणीले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्न सक्ने भन्दै आलोचना गरेका छन् । चौतर्फी आलोचना भएपछि ट्रम्पले शुक्रबारको ब्रिफिङ्गको क्रममा बिहीबार आफूले गरेको टिप्पणी ‘व्यंग्यात्मक’ रहेको बताएर बच्ने कोशिस गरे ।
उनले शुक्रबारको ब्रिफिङ्गमा पत्रकारका प्रश्नको जवाफ दिएनन्, यो अति असामान्य घटना हो । ट्रम्प पत्रकारसँग ‘झगडा’ गर्न र उनीहरुका प्रश्नको जवाफ आफै दिन रुचाउने व्यक्ति हुन् ।
तर जीवाणु नाशक इन्जेक्सन सम्बन्धी टिप्पणीको चौतर्फी आलोचना भइरहेका बेला उनले पत्रकारका प्रश्नको सामना नगरेका हुन्।
ट्रम्पले कोरोना भाइरसको संक्रमण र त्यसको उपचारका विकल्पलाई लिएर लगातार जोखिमपूर्ण टिप्पणी गर्दै आएका छन् । उनले मेलेरिया विरुद्धको औषधि होइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसको पनि उपचार गर्ने बताउँदै आएका थिए ।
तर पछिल्ला दिनमा उनले सो औषधिको कुरा गर्न छोडेका छन् । सो औषधिले कोरोना भाइरसको उपचार गर्ने कुरा वैज्ञानिकले प्रमाणित गरेका छैनन् ।