भदौ १ गते नेपाल-भारत सीमा वार्ता हुने - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

भदौ १ गते नेपाल-भारत सीमा वार्ता हुने



काठमाडौं । नेपाल र भारतबीच जारी सीमा विवाद समाधानका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको वार्ता नेपालको राजधानी काठमाडौंमा भदौ १ गते हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल-भारत परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।

दुई देशका परराष्ट्र मन्त्रालय स्तरीय वार्तामा आर्थिक तथा विकासको एजेण्डालाई समावेश गरिँदै आइएको छ । तर यस पटकको मुख्य एजेण्डा भने सीमा विवाद रहेको छ । नियमित एजेण्डामा छलफल गर्नेगरी सन् २०१६ देखि यस्तो वार्ता हुँदै आएको थियो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । तर, परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राजदूतको अनौपचारिक छलफल भए अनुसार भदौ १ गते वार्ता हुन थालेको हो ।

भारतीय सञ्चारमाध्यमले पनि नेपाल र भारतबीच भदौ १ गते वार्ता हुने दावी गरेर समाचार सार्वजनिक गरेका छन् । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच संवादहीनताको अवस्था थियो । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेको नक्सा सार्वजनिक भएपछि भारत असन्तुष्ट छ ।