भाडामा बस्नेलाई समस्या पार्ने घरबेटीमाथि कडा कारबाही हुने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भाडामा बस्नेलाई समस्या पार्ने घरबेटीमाथि कडा कारबाही हुने



काठमाडौं- राजधानीमा डेरामा बसेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई विभिन्न बहानामा घरबाट निकाल्न दबाब दिने घरबेटीलाई कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका छन्।

गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार तीन सुरक्षा निकाय र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

घरबेटीहरुले महामारीका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसहित अन्यलाई घरबाट निकाल्ने, काममा जाँदा पनि विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहारजस्ता घटना सार्वजनिक भइरहेका छन्।

यस्ता कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन्।

स्वास्थ्यकर्मीको मनोबल गिराउने जस्ता कार्य क्षम्य नहुने मन्त्री थापाले बताए।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलाई बोलाएर गृहमन्त्रीले छलफल गरेका हुन्।

यस्तै लकडाउन र शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि छलफल भएको गृह मन्त्रालय श्रोतले जनाएको छ।