नेपाली नेतालाई धम्की दिएकोबारे अमेरिकाले दियो यस्तो स्पष्टिकरण
काठमाडौं- अमेरिकाले एमसीसीका सबालमा नेपालका नेताहरुलाई कुनै पनि धम्की नदिएको स्पष्ट पारेको छ। हालै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेताहरुसँगको टेलिफोन वार्तामा एमसीसी पास नगरे राम्रो नहुने धम्की दिएको खबरको अमेरिकाले खण्डन गरेको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले धम्की दिएको घट्ना पूर्णरुपमा गलत भएको जनाएको छ। अमेरिकी राजदूत र्यान्डी बेरीले भनेका छन्, ‘हामीले नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेका हौं। एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र नेपाल एक्लैको निर्णय हो।’
उनले नेपाली नेताहरुले वाचा पूरा गर्ने कार्यमा वर्षौंको ढिलाइ गरेपछि आफूहरुले अनुमोदनको पक्रियामा लैजान आग्रह गरेको स्पष्ट पारे। ‘हामीले यतिमात्र भन्न खोजेका हौं कि एमसीसी सम्झौतालाई अनुमोदन गर्न मतदानको प्रक्रियामा ल्याइयोस् ता कि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत् आफ्नो भनाइ राख्न सकून्,’ उनले भने।
नेपालका कुटनीतिक मामिला पत्रकारहरुसँग सोमबार बेरीले भने, ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो ।’ उनले अमेरिकाले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेको बताए । ‘एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो । र, नेपाल एक्लैको निर्णय हो,’ राजदूत बेरीले भने,‘नेपालले वाचा पुरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस ताकि नेपाली जनताले आफना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून् ।’
दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले माघ २७ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्को सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।
उक्त संवादमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सार्वजनिक रुपमै आफूलाई चेतावनीको भाषामा मन्त्री लुले कुराकानी गरेको बताएका थिए । त्यसपछि सञ्चार माध्यममा अमेरिकाले नेपाली नेताहरुसँग गरेको संवादलाई लिएर टिका–टिप्पणी भएको थियो ।
राजदूत बेरीले अमेरिकाले नेपाली नेताहरूसँग छलफल त गरिरहेको पनि जानकारी दिए । ‘तर पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहस जस्तो पक्कै थिएन । सार्वजनिक दस्तावेज वा भनाइहरूमा आधारित हुँदा, नेपाली नेताहरूमा एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार विकास गर्ने बुझाइ भएको पाइन्छ,’ उनले भने,‘सोही कारण नै नेपाल सरकारले पहिले हामीसँग एमसीसी कम्प्याक्टका लागि आग्रह गरेको हो ।’
बेरीले दुर्भाग्यवश एमसीसी विकास कार्यक्रम भ्रामक सूचनामा फसेको भन्दै दु :ख व्यक्त गरे । ‘सो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ । त्यसको विपक्षमा को हुनसक्छ ?’ उनले भने ।
बेरीले अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको बताए । उनले यो वर्ष नेपाल–अमेरिका बीचको सम्बन्धको ७५औं वर्ष रहेको उल्लेख गर्दै यी वर्षहरूमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको उल्लेख गरे ।