बेन स्टोक्स- जेलजीवन, 'कलङ्क' देखि राष्ट्रिय 'हिरो' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बेन स्टोक्स- जेलजीवन, ‘कलङ्क’ देखि राष्ट्रिय ‘हिरो’



एजेन्सी – विश्वकप क्रिकेट उपाधि जितेपछि इङ्ल्याण्डका कप्तान इयोन मोर्गनले अलराउण्डर बेन स्टोक्सलाई ‘सुपर ह्यूमन’को संज्ञा दिए।

उनले दिएको यो संज्ञा बनावटी वा भन्नका लागि मात्र भनिएको थिएन। विश्वकप क्रिकेटको फाइनलमा साँच्चै उनले उत्कृष्ट खेल खेले।

टोलीको फाइनलसम्मको यात्राका लागि उनको योगदान महत्वपूर्ण रह्‍यो।

फाइनलमा उत्कृष्ट खेल खेलेका स्टोक्स एक वर्ष अगाडीसम्म ‘भिलेन, कलंक तथा बिग्रिएका बच्चा’ थिए। तर विश्वकपको प्रदर्शनले उनलाई राष्ट्रिय ‘हिरो’ बनाइदियो। यसमा कसैको दुई मत रहनेछैन। यसका अलावा उनी इयान बाँथमसँग इङ्ल्याण्डका महानतम अल्राउण्डरका रूपमा सँगै सम्झिइनेछन्।

२५ सेप्टेम्बर २०१७ को एक रात, स्टोक्स एक नाइट क्लबबाट पक्राउ परेको खबर सार्वजनिक भयो। पछि फेरि अर्को खबर आयो त्यतिबेला उनले दुई अवोधको बचाउ गरिरहेका थिए। जब सो घटनाको भिडिओ सार्वजनिक भयो, तब खुलासा भयो स्टोक्सले दुई व्यक्तिलाई पिटिरहेका थिए। यसले उनलाई खासै मद्दत गरेन। उनलाई राष्ट्रिय टोलीबाट बाहिर पठाइयो।

त्यसको ११ महिनापछि उनी सो घटनामा निर्दोष सावित भए।

विश्वकपको फाइनलमा उनले गरेको उत्कृष्ट प्रदर्शनले उनको यो दाग धोइदिएको छ। उनले एकतर्फीरूपमा इङ्ल्याण्डलाई विश्वकप जिताए। खेलपछि कप्तान इयोन मोर्गानले स्टोक्सको खुलेर तारिफ गरे।

‘उनी(स्टोक्स) जे थिए, त्यहाँबाट फर्किनु अविश्वसनीय थियो। उनी करिबकरिब ‘सुपरह्यूमन’ हुन्। उनी हाम्रो टिमको ब्याटिङको भार उठाउँछन्। मलाई थाहा छ, जोस बटलर र उनको साझेदारी उत्कृष्ट थियो तर पछिल्लो ब्याटिङक्रमसँग उनले जसरी ब्याटिङ गरे, त्यो अविश्वसनीय थियो’, मोर्गानले स्टोक्सको प्रशंसा गरे।

‘म्याचका दौरान जस्तो माहोल चलिरहेको थियो, त्यसलाई उनले राम्रो गरी सम्हाले। टिभीमा म्याच हेरिरहेको जोकोही बेन स्टोक्सजस्तो बन्न चाहनेछन्’, उनले भने।

योसँगै मोर्गानले सन् २०१६ को टि-२० विश्वकप फाइनलको पनि सम्झना गरे। त्यो खेलमा वेस्ट इण्डिजका कार्लोस ब्रेथवेटले स्टोक्सको बलमा ४ छक्का हानेर इङ्ल्याण्डको मुखबाट जित खोसेका थिए।

‘हो मैले कयौं पटक भनेको छु, कोलकातामा स्टोक्ससँग जे भयो, त्यो अरू कसैसँग भएको भए उसको करियर बर्बाद भइसक्थ्यो। स्टोक्स कयौं समयमा एक्लै र हामीसँगै उभिएका छन्। आज राम्रो दिन थियो र हामी यसका लागि उनीप्रति कृतज्ञ छौं’, मोर्गानले अगाडि भने।

गोर्गनको यस भनाइ र लड्समा फाइनलमा घटेका घटनाक्रमका लागि स्टोक्सलाई सँधै सर्वश्रेष्ठ अलराउण्डरका रूपमा याद गरिनेछ।