चिनियाँ रक्षामन्त्री भोलि आउने औपचारिक जानकारी सार्वजनिक
काठमाडौं- चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे भोली आइतबार नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी गराएको छ ।
औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल भ्रमणबारे शनिबार बिहान परराष्ट्र मन्त्रालयले औपचारिक घोषणा गरेको हो। परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।
कोभिड १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुन् । उनी नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम छ ।
उनले आएकै दिन प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन् । रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लागेका हुन् ।
सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्री आउन लागेका हुन् ।
पछिल्लोपटक तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए ।