बजार नपाएपछि कपिलवस्तुका उखु किसान चिन्तीत - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

बजार नपाएपछि कपिलवस्तुका उखु किसान चिन्तीत



कमल बन्जाडे / कपिलवस्तु

कपिलवस्तुका उखु कृषकहरुले बजारको विकल्प खोज्न थालेका छन् । पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी चिनी मिल सर्लाही स्थानान्तरण गरिएपछि यहाँका कृषकहरु चिन्तित बन्दै आएका छन । तयार भएको उखु विक्री गर्न बजारको समस्या भएपछि केहि कृषकले क्रशर उद्योगमा भेली बनाउन दिएका छन । उखुले बजार नपाउने भएपछि कृषकहरुले वैकल्पिक उपायको खोजि गर्न थालेका छन । कच्चा पदार्थको अभाव देखाउदै महालक्ष्मी सुगर मिल संचालकले सर्लाही स्थानान्तरण गरेपछि जिल्लाका कृषक मारमा परेका हुन् ।

मिल स्थानान्तरण पछि कपिलबस्तुका शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका लगायतका क्षेत्रका उखु किसानहरुले सख्खर उत्पादन गर्न थालेका हुन् । खासगरि जिल्लाको पश्चिमी क्षेत्रमा उखु खेती गरिन्छ । शिवराज नगरपालिका जवाभारीका कृषक राजेन्द्र यादव उखु बिक्रि नभएकोमा चिन्ता ब्यक्त गर्छन् । उनले झण्डै ४ हजार हेक्टरमा लगाएको उखु अहिले पनि बारीमै रहेको बताउछन् । लामो समयसम्म उखु बारीमै रहेकोले अव सस्तोमै उखु बेच्ने योजना रहेको उहाले जानकारी दिनुभयो

जिल्लामा चिनी मिल संचालनमा आउने आसामा उखु खेती गरेका किसानहरु यस बर्षदेखि बैकल्पिक उपाय अंगाल्न बाध्य बनेका हुन् । सिंचाइ सुविधा नभएको जिल्लाको पश्चिमी क्षेत्रमा बढि मात्रामा उखु खेती गरिने गरिन्छ । उखु खेतीबाटै बर्षेनी जिविकोपार्जन गर्दै आएका कृषकहरु मिल बिस्थापित भएपछि समस्यामा परेको नेपाल किसान संघ कपिलबस्तुुका अध्यक्ष अनुप कुमार चौधरीले बताए । कतिपय किसानले सस्तोमा उखु क्रसिङ गर्ने उद्योगमा बेच्न सुरु गरेको चौधरीले बताए । चिनी मिल स्थानान्तरण भएसंगै सख्खर (भेली) उद्योगहरु भने फस्टाएका छन् । यहा“ संचालित झण्डै डेढसय बढि क्रसिङ उद्योग छन् । जिल्लामा उत्पादित उखुहरु अहिले कतिपयले सख्खर उद्योगमा परिचालन गरेका छन् भने कतिपयले नवलपरासीको लुम्बिनी सुगर मिललाई बिक्रि गरिएको किसानहरु बताउ“छन् ।

सुख्खाग्रस्त क्षेत्रका कारण जिल्लामा उखुखेती खासै राम्रो नभएको र भारतीय उखुमा भर पर्दा पनि बर्षेनी घाटा व्यहोर्नुपरेकाले मिल स्थानान्तरण गर्नुपरेको प्रबन्ध निर्देशक वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । मिलको क्रसिङ क्षमता दैनिक २५ हजार क्विन्टल भए पनि भारतीय उखुलाई प्राथमिकता दिँदासमेत क्रसिङ क्षमताजति उखु र्पुयाउन नसकिएको मिल प्रशासनले जनाएको छ ।