अन्तत: झुके भारतीय सेनापति : फेरियो नेपालबारे दिएको बयान - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अन्तत: झुके भारतीय सेनापति : फेरियो नेपालबारे दिएको बयान



काठमाडौं- भारतमै चर्को विरोध भएपछि भारतीय सेना प्रमुख एमएस नरवणेले नेपालबारे बयान फेरेका छन् । केहि साताअघि चीनको इसारामा नेपालले भारतविरुद्ध कदम उठाएको भन्दै विवादमा तानिएका थिए ।

टाइम्स अफ इन्डियाका अनुसार उनले हाल बयान फेरेका छन् उनले नेपाल र भारतका बीचमा प्रगाढ सम्बन्ध भएको बताएका छन्। केही समयअघि चीनक इशारामा नेपाल नाचेको बताएका उनले एकाएक बयान फेरेका हुन् ।

चीन र नेपालसँग चलिरहेको सीमा विवादबारे बोलेर विवादमा परेका उनले विगतको अभिव्यक्ति सच्चिने गरी पुनः बोलेका छन्। यसअघि चीनको उक्साहटमा लागेर नेपालले सीमा विवाद झिकेको आशय दिने अभिव्यक्ति दिएपछि नेपालमा मात्र नभएर भारतमै पनि नरवणेको आलोचना भएको थियो।

भारतमै पनि निकै आलोचनाको शिकार भएपछि नरवणे बयान फेर्न बाध्य भएका हुन् । उनको सो अभिव्यक्तिपछि नेपाल-भारतको सम्बन्धमा थप समस्या आएको थियो । यसपटक उनले नेपालसँगको सम्बन्धलाई लिएर भारत संवेदनशील र नरम रहेको बताएका छन्।

शनिबार देहरादूनमा इन्डियन मिलिट्री (आईएमए)को पासिङ आउट परेडमा भाग लिन पुगेका नरवणेले नेपाल र भारतबीचको सम्बन्ध बलियो र प्रगाढ रहेको बताए।

‘दुई देशबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ’, उनले भने, ‘हामी आपसमा जोडिएका छौं। आगामी दिनमा पनि यो सम्बन्ध प्रगाढ नै रहन्छ।’

उनको भनाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘नेपालसँग भौगोलिक, सांस्कृतिक , धार्मिक सम्बन्ध जनतासम्म रहेको छ।’

उनले चीन र भारतको सीमामा अहिले स्थिति पूर्णतः नियन्त्रणमा रहेको पनि बताए। ‘म लगातार सम्पर्कमा छु। कोर कमाण्डर स्तरमा कुराकानी भएको छ र स्थानीय स्तरमा समकक्षी स्तरमा बैठक भइरहेको छ’, उनले भने।